गल्ती सच्याउँदै भारत ?

भारतीय विदेशमन्त्री सुषमा स्वराज दलबलसहित गएको बिहीबार नेपाल भ्रमणमा आइन् । उच्च नेताहरू, सरकार प्रमुख र राष्ट्रपतिसँग भेटघाट कुराकानी गरेर उनी भोलिपल्ट शुक्रबार नै दिल्ली फर्किइन् । नेपालमा नयाँ सरकार बनिसकेको छैन, सत्ता कामचलाउ सरकारले चलाइरहेको छ । यस स्थितिमा भारतीय विदेशमन्त्री स्वराजको यो भ्रमण अस्वाभाविक र असान्दर्भिक झैं देखिनु बेमनासिब लाग्दैन । तर अर्को दृष्टिकोणबाट हेर्ने हो भने यसलाई उचित र स्वाभाविक मान्न पनि सकिन्छ । विगतमा भारतले पाँच महिनासम्म नाकाबन्दी लगाएर नेपाली जनतालाई निकै ठूलो सकस दियो । त्यो बेलाका प्रधानमन्त्री केपी ओलीले अडिग भएर नाकाबन्दीको सामना गरे । नाकाबन्दी नखुली ओली भारत भ्रमणमै गएनन् । त्यस घटनापछि नेपालसँग भारतको सम्बन्ध अझै पनि सहज हुन सकेको छैन । नेपाली राष्ट्रियताका पक्षधर केपी ओलीले नै अब स्थिर सरकारको नेतृत्व गरेर वाम गठबन्धनको सरकार बनाउँदैछन् । यस स्थितिमा पुरानो गल्ती सच्याएर छिमेकीसँग सम्बन्ध सुधार्ने उचित अवसर सम्भवतः यही ठाने भारतीय प्रधानमन्त्री मोदीले । उनले वामगठबन्धनले चुनावमा ठूलो सफलता पाएपछि केपी ओलीसँग पटक पटक फोन वार्ता गरिसके । त्यतिले नपुगेर आफ्नो विदेशमन्त्रीलाई नै नेपालका भावी प्रधानमन्त्रीसँग प्रत्यक्ष भेटघाट कुराकानी गर्न नेपाल पठाए ।
नेपालले संविधानसभाबाट जारी गरेको संविधानप्रति भारतले असन्तुष्टि देखाइरहेकै थियो । यसैबीच त्यही संविधान अन्तर्गत नेपालले स्थानीय निकायदेखि प्रतिनिधि सभासम्मका चुनाव सम्पन्न ग¥यो । प्रदेश सभाहरू स्थापित भएर संघीयतामा प्रवेश गरेको छ नेपालले । आपूm असन्तुष्ट रहे पनि नेपालको यस्तो संवैधानिक सफलताको अवमूल्यन गरिरहनु भारतीय हितमा हुँदैनथ्यो । यस स्थितिमा नेपालसँग सम्बन्ध सुधारेर अघि बढ्नु नै श्रेयस्कर ठान्यो भारतले । अन्ततः नेपालको संविधानप्रति भारतले देखाएको स्वीकृतिको परिचायक पनि हो अहिले भारतीय प्रधानमन्त्रीले देखाएको व्यवहार ।
विगतमा प्रधानमन्त्री हुँदा ओलीले उत्तरी छिमेकी चीनसँग भरोसापूर्ण सम्बन्ध विकासका नयाँ आयामहरू थपे । भारतनिर्भरता कम गर्न चीनसँग गरिएका सम्झौता सकारात्मक गतिमा हिँडिरहेका छन् अहिले । चीनसँगको बढ्दो निकटता आफ्नो निम्ति स्वस्थकर नहुने भारतीय पक्षको आकलन छ । त्यसैले नेपाललाई आपूm निकट राखी राख्ने भारतीय चाहनाको अनुरूप नै यस्ता घटना भएका बुझ्न सकिन्छ ।
हामीले भारतीय पक्षको यस्तो ‘बढ्दो सद्भाव’ प्रति बढी उत्साहित हुनु पनि लाभदायक हुँदैन । दुवै छिमेकीसँग सन्तुलित सम्बन्ध राख्नु हितकर भए पनि आपत् विपदको बेला कसको आडभरोसा भरपर्दो देखिएको छ त्यो पनि हृदयंगम गर्नैपर्छ हामीले । अब बन्ने सरकार र त्यसको नेतृत्वले भारतसँगका सीमा लगायतका समस्या र असमान सन्धि सम्झौताहरूलाई सच्याउन सुझबुझयुक्त पाइलो चाल्ने दृढता देखाउनुपर्दछ । विदेशका आधिकारिक व्यक्तिसँग भेटघाट गर्दा राख्नुपर्ने मर्यादाको उपेक्षा गर्नु पनि हितकर हुँदैन । यतातिर भने सबैले चनाखो बन्नै पर्दछ । प्रधानमन्त्री बन्नासाथ भारत भ्रमणमा जानैपर्ने परम्परा पनि अब बदलिनु पर्दछ । नयाँ सरकार बनेपछि भारतकै प्रधानमन्त्री नेपाल आए पनि स्वागतयोग्य हुन्छ । आउँदो सरकारका गतिविधि कुन रूपमा अघि बढ्छन् छिमेकीसँगको सम्बन्धको स्वरूप कस्तो हुन्छ भविष्यले त्यो स्पष्ट गर्ला नै !

Comments