‘सदाशिव’को अपेक्षा

- देवेन्द्र गौतम

आज शिवरात्रि पर्व । नेपालको सैनिक दिवस । शिवरात्रि पर्वमा नै सैनिक दिवस मनाउने चलनको इतिहास जानकारले नै बताउलान् । तर, यो स्तम्भकारले बुझेसम्म–शिवरात्रि पर्वमा पशुपतिनाथ दर्शन गर्न आउनेलाई नेपाली सैन्य क्षमता देखाउने अवसरका रूपमा यो पर्वलाई रोजिएको थियो । यो नेपाली माटो बिटुलो पार्न नदिएको नेपाली सेना अहिले विश्व सैन्य शक्तिको तुलनामा ‘कमजोर’ होला तर यसको विरासत अनि अझै पनि मुलुकको भरपर्दो संगठित राष्ट्रिय संस्था छ । यसले आफ्नो छवि कायम राखोस्, यो माटोलाई लिज–लिलामीमा राख्न खोज्ने तत्वहरूलाई छप्काओस् ।
शिवरात्रिमा पूजिने ‘शिव’ हिन्दू आस्थाका धरोहर हुन् । आलोचना गर्नेहरूले उनलाई ‘मस्तराम’ ‘गँजडी’ आदि भन्लान् तर शिवस्वरूप प्रतिकात्मक छ, त्यसलाई बुझ्न सक्नुपर्छ । शिवगणको अर्थ बुझ्न सक्दा हाम्रो जीवन पनि सकारात्मक दिशामा डोरिन्छ । शिवरात्रि पर्वका अवसरमा कामना गरौं– नेपाली नेता, राज्यका पदाधिकारीहरूको मतिभ्रष्ट नहोस्, भ्रष्ट मति सुध्रियोस् ।
यो कामना गर्नु परेको छ किनभने नेपाली अधिकांश नेता, राज्यका अधिकारीहरू कण्ठी बाँध्ने तर मांसाहार गर्ने प्रवृत्तिका छन् । वि.सं. २०१२ तिर जनकपुरमा बस्दा देख्थें–तुलसीको डाँठ डोरीमा बाँधेर कण्ठी लगाउनेहरूले लुकेर मासु खान्थे तर त्यसबेला कण्ठी निकाल्थे । तुलसीको कण्ठी शुद्धताको प्रतीक हो । त्यो लगाउनेलाई ‘शुद्ध’ मानिन्थ्यो, उनीहरूले मासु खान हुँदैनथ्यो । तर मांसलुप्तहरूले लुकेर मासु खान्थे, कण्ठी निकालेर । मासु खाएपछि फेरि कण्ठी लगाउँथे र ‘शुद्ध’ देखिन्थे ।
हो, त्यस्तै कण्ठी बाँध्नेहरू प्रशस्त छन् नेपालको हरेक क्षेत्रका अगुवाहरू । भाषण बढो शुद्धता, सदाचार, राष्ट्रवादको गर्छन् तर व्यवहार दुराचारी छ । सुरक्षा, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, अदालत आदिजस्ता निकायका कार्यालयमा गएर हाकिमको नाम पाटी हेर्दासमेत लाज लाग्छ । प्रधानमन्त्री, मन्त्रीहरूका हुकुमले राज्य सञ्चालन पद्धति, नियम कानुनको खिल्ली उडाएको देखिन्छ । कीर्ते प्रमाणपत्रका आधारमा राज्यका कार्यकारी निकायका पदाधिकारी हुनेहरूले सदाचारको भाषण गर्नु के तिनै कण्ठी निकालेर मांसाहार गर्ने ढोंगीहरू जस्तै होइनन् र ?
यस्ता ढोंगीहरू मुलुकका धमिरा हुन्, राष्ट्रघाती हुन् । तर विडम्बना ! उनीहरू खुलेआम राष्ट्रघाती अभिव्यक्ति दिन हिच्किचाउँदैनन् । पछिल्लोपटक सुनियो–नापी विभागका महानिर्देशकले नेपाल–भारत सीमाबारेको प्रतिवेदन सार्वजनिक गरे नेपाल–भारत सम्बन्ध बिग्रने हुँदा त्यसलाई गोप्य नै राखेका छौं भनेको । नेपाली भूमि मिचिएको यथार्थ सार्वजनिक गर्न नचाहने, भारतको स्वार्थसामु नेपाली माटो मिचिएको सहने यस्ता राष्ट्रघाती अधिकारी पाल्ने कहिलेसम्म हो हामी नेपालीले ? के सरकारले, नेपाली माटो रक्षक नेपाली सेनाले यस्ता राष्ट्रघातीलाई कुनै कारबाही नगरी पदासीन गरिरहने हो ?
पुर्खाले जोगाएको नेपाली माटो, स्वाभिमान, धर्म संस्कार, संस्कृति, सभ्यता नयाँ पुस्ताले जोगाउनु त कताकता, विधर्मी, परदेशीको दान–दातव्यको लोभमा मास्न उद्दत हुने प्रवृत्ति–पात्रको हालीमुहाली बढ्दो छ । टपरटुइँ्याहरू प्रभावशाली छन् । यसैले बदमास दुराचार प्रवृत्ति झाङ्गिँदै छ । पुरुष–पुरुषको मैथुनबारे स्वास्थ्य मन्त्रालयले छानबिन समिति नै गठन गर्नु परेको लज्जास्पद समाचार नेपाली सभ्यता, संस्कृति र आस्थालाई कमजोर पारिँदै गएको परिणाम होइन र ?
निश्चय नै, सबै व्यक्ति सदाचारी हुँदैनन् । दुराचारी, अनाचारी, व्याभिचारी, बदमासहरूबाट सत्जनहरू सतर्क हुनुपर्छ । खराब प्रवृत्तिबाट समाज–देशलाई जोगाउनु सरकार÷राज्यको कर्तव्य हो । तर राज्य सञ्चालनको जिम्मेवारी रहेको सरकारकै नेतृत्व लज्जास्पद क्रियाकलाप गर्दैछ अहिले । चन्द्रशमशेरले हुकुम दिएर बिर्ता बाँडेजस्तो राज्यकोषको रकम आफ्ना मन्त्री, आसेपासेलाई बाँेका छन् प्रधानमन्त्रीले ! मनलाग्दी निर्णयहरू गरेका छन्–मानौं उनी आगामी पाँच वर्षका लागि सरकार सञ्चालन गर्न जनादेश प्राप्त हुन् ! आफ्नो राजनीतिक आदर्श, नैतिक मूल्य मान्यताको कुनै पर्वाह छैन उनलाई । राजनीतिक नेतृत्वको यसरी मति भ्रष्ट हुनुमा नेपाली धर्म संस्कृतिका मूल्य–मान्यतामाथि विधर्मी प्रभावको वृद्धिले पनि योगदान पु¥याएको छ । आजकै शिवरात्रि पर्वभन्दा ‘भ्यालेन्टाइन डे’को तयारीमा युवापुस्ता रमाइरहेको छ । यसको दूरगामी परिणाम राजनीतिक नेतृत्वले विचार गरेको देखिँदैन । नेतृत्व जे जसरी हुन्छ विदेशी पैसा हात पार्ने मात्र सोच्छ । विदेशी पैसाले नेपाली समाज कता पु¥याउँदै छ, कस्तो आचरण बढाउँदै छ भन्ने सोच्दैन । त्यसैले त रेडक्रसजस्तो ‘समाजसेवी’ संस्थाका पदाधिकारीहरूबाट अर्बौं रुपियाँ अनियमित ढंगले दुरुपयोग अर्थात भ्रष्टाचार गरेको समाचार सुन्नु परेको छ । टपरटुँइ्याहरू निजी गाडी चढेर रवाफ देखाउन हच्किएका छैनन् । किनभने उनीहरू नेताका सेवक बनेका छन् ।
अब यस्तो प्रवृत्ति नियन्त्रण गर्ने सरकार चाहिएको छ । केही दिनमै नेकपा एमालेका अध्यक्ष केपी ओलीको नेतृत्वमा केन्द्रीय सरकार बन्दैछ । सातवटा प्रदेश सरकार बन्दैछन् । यी सरकारहरूले अब गम्भीरतासाथ भ्रष्ट प्रवृत्तिमाथि लगाम लगाउनुपर्नेछ । सदाचार प्रवद्र्धन गर्नुछ । राष्ट्र जोगाउनु छ । माटो मात्र होइन राष्ट्र, सभ्यता धर्म–संस्कृति पनि हो भन्ने मनन गरिनुपर्छ । छाल गरेर खाने, पण्डागिरी, प्रवृत्तिलाई निरुत्साहित पारिनुपर्छ ।
आशलाग्दो समाचार सुनिएको छ–अब बन्ने वाम गठबन्धन सरकारले निर्वाचन घोषणा भएपछि कामचलाउ बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेका निर्णयहरू संसद्बाटै विशेष प्रस्ताव पारित गरी खारेज गर्ने तयारी गरेको छ । हो, यसो गर्नु उचित छ, नत्र मन्त्रिपरिषद्बाटै निर्णय गरे मुद्दा हाल्ने र छाल गनेर खानेहरू बलिया हुनेछन् ।
केन्द्रीय सरकारका कामकारबाहीका आधारमा मात्र संघीय प्रणाली सफल हुनेछैन । सातैवटा प्रदेश सरकार जनतासँग प्रत्यक्ष ठोकिनेछन् । तिनले प्रभावकारी कामबाट जनता बलियो बनाउनुपर्छ । तर, दुई नम्बर प्रदेश सभाको पहिलो बैठकमा त्यहाँको सरकार बनाउने मधेशवादी गठबन्धनका दुई पार्टीका नेताहरूले हिन्दी भाषामा भाषण गरेर अपशकुन देखाए । त्यति सम्पन्न मिथिला, अवधि भाषा संस्कृति हुँदाहुँदै विदेशी भाषा हिन्दी प्रयोग गरेर ती नेताहरूले कसप्रति भक्तिभाव देखाए ? यद्यपि त्यसप्रति स्थानीय युवाले विद्रोह पनि गरेका छन् जुन सकारात्मक संकेत हो ।
अब सकारात्मक बाटोतिर नेपालीलाई डो¥याउनुपर्ने जिम्मेवारी नेकपा एमाले–माओवादी केन्द्र (वाम गठबन्धन)को काँधमा छ । पार्टी एकताको वाचासहित निर्वाचनमा गएका यी पार्टीबीच एकता प्रक्रियामा विलम्ब देखिएको हुँदा कतिपयमा आशंका छ–कतै पार्टी एकीकरण नहुने त होइन ? यो प्रश्न स्वयं ती दुवै दलका नेताहरूमा पनि छ । अस्ति एक रेडियोमा एमालेका नेता सुरेन्द्र पाण्डे, जो एकताका लागि गठित कार्यदलमा पनि छन्–ले पनि झस्काए– अब दुई हप्ताभित्र एकता प्रक्रिया टुंगिएन भने नेपाली राजनीतिले नयाँ कोर्स लिनेछ । उनका अनुसार, यो एकता प्रक्रिया नटुंगिए कम्युनिष्ट पार्टीभित्र होइन, अरु पार्टीहरूमा पनि असर पर्नेछ ।
त्यस्तो नहोस् । दुई ठूला कम्युनिष्ट पार्टीको एकता हुँदा आफ्नो हैसियत गुम्ने देखेकाहरूको भाँजो तोडियोस् । पार्टी अध्यक्ष सेरेमोनियल र महासचिव कार्यकारी बनाउनेदेखि अरु उपायहरू पनि छन् । त्यस्तो मोडालिटी विकास गरेर नेताहरू एउटै पार्टीमा बसी मुलुकलाई सही नेतृत्व दिन सकून् । अब अर्कालाई भारी बोकाएर आफ्नो असफलता लुकाउने, जाति, क्षेत्र भजाएर खाने दिन सकिए भन्ने नेताहरूले बुभूmन् ।
अन्त्यमा, सडक दुर्घटनामा ज्यान गुमाएका सिँचाइ सचिव रामानन्दप्रसाद यादवप्रति श्रद्धाञ्जलि । नयाँ सरकारले सडक कर उठाउने मात्र होइन, यस्ता दुर्घटना न्युनीकरण गर्न सडक सुधारमा ध्यान देओस् ।

Comments