५ सय करोड लगानीमा बन्ने भयो ‘रामायण’

एजेन्सी: भगवान रामको जीवनकथामा आधारित हिन्दु धर्मावलम्बीहरुको सबैभन्दा ठूलो धार्मिक ग्रन्थ तथा पौराणिक कथा ‘रामायण’ मा आधारित फिल्म बन्ने भएको छ ।

पौराणिक धार्मिक कथामा आधारित ५ सय करोड भारतीय रुपैयाँ लगानी रहने यो फिल्म निर्माणका लागि निर्माणपक्षले भारतको उत्तर प्रदेशस्थित योगि आदित्यनाथको सरकारसँग प्रारम्भिक सहमतिपत्रमा हस्ताक्षर गरेको छ ।

‘थ्री डी’ प्रविधिको प्रयोग गरेर बनाइने यो फिल्म तमिल, तेलुगु र हिन्दी भाषामा बनाइने भएको हो । यो फिल्मको निर्माण नामित मल्होत्रा, अल्लू अरविन्द र मधु मन्तेनाले गर्ने भएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार यो फिल्म तीन सिरिज र तीन फरक भाषामा बन्न लागेको हो ।

‘यो फिल्म ५ सय करोड भारतीय रुपैयाँ लगानीमा निर्माण हुनेछ’, फिल्मका निर्माता मधु मन्तेनाले सञ्चारमाध्यमलाई भने, ‘यो भारतको सबैभन्दा महंगो फिल्म हुनेछ । नयाँ प्रविधि र भिएफएक्ससँगै पौराणिक कथालाई एकपटक फेरि नयाँ स्वरुपमा नयाँ पिढीका दर्शकलाई पस्कँदैछौँ ।’

ठुलो लगानीको यो फिल्म‘रामायण’ का लागि निर्माण पक्षले निर्देशक र कलाकारको छनौट सुरु गरेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार यही वर्षदेखि फिल्मको छायाँकन थालिनेछ । यो फिल्ममा तेलुगु सुपरस्टार अल्लू अर्जुन र रामचरण मूख्य भूमिकामा हुनेछन् ।

Comments