डा. केसी फेरि अनसन बस्ने

काठमाडौं । त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डा गोविन्द केसी पुनः आमरण अनसन बस्ने भएका छन् । डा. केसीले दुई बुँदे माग राख्दै फागुन २९ गतेबाट फेरि अनसन बस्ने चेतावनी दिएका हुन् । डा. केसीले यो पटक सर्वोच्च अदालतका प्रधानन्यायाधीश गोपाल पराजुलीले पदबाट राजीनामा दिनुपर्ने, राजीनामा नदिए महाभियोग प्रक्रियाबाट हटाउनुपर्ने र चिकित्सा शिक्षा जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्दै दोषिलाई कारबाही गर्नुपर्ने माग गरेका छन् ।
उनले विज्ञप्तिमा भनेका छन्, ‘‘मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार तथा सुशासनका मुद्दामा हामी निरन्तर लडि आएको विदितै छ । त्यसै क्रममा न्यायालय लगायत देशका संवैधानिक निकायका पदाधिकारीहरूलाई समेत जवाफदेही बनाएर ती निकायको कार्य सम्पादन निष्पक्ष र प्रभावकारी हुनुपर्छ भनेर हामीले बारम्बार भन्दै आएका छौं ।
त्यसै क्रममा प्रधानन्यायाधीश गोपाल पराजुलीले गरेको भ्रष्टाचार र चरम् पदीय दुरूपयोगका कारण नेपालको न्यायालयको मर्यादामा गहिरो आँच पुगेकाले न्यायालयको मर्यादा फर्काउनका लागि पनि उनले पद छाड्नुपर्छ भनेर हामीले यस अघि एक चरण सत्याग्रह गरिसकेका छौं । त्यस क्रममा रातारात अवैध रूपमा हामीमाथि धरपकड गरिए पनि अन्ततः सर्वोच्च अदालतको इजलासले प्रधान न्यायधीश पराजुलीको विवादित नागरिकता र शैक्षिक प्रमाणपत्र झिकाएर अनुसन्धान गर्ने आदेश दियो । त्यो अवस्थामा निष्पक्ष न्याय सम्पादनका लागि उनले पद छाड्नुपर्छ भनेर हामीले निरन्तर भन्दै आएका छौं ।
यसैबीच, पराजुली चाहिं हाम्रातर्फका वकिललाई आफैं ज्यान मार्ने धम्की दिनेसम्मका कुकृत्यमा संलग्न मात्र भएनन्, मिडियामाथि सेन्सरसीप लगाएर आफ्ना कुकर्महरू छोप्ने प्रयासमा लागिरहेका छन् । लोकतान्त्रिक व्यवस्थामा योभन्दा लाजमर्दो अवस्था अर्को हुन सक्दैन ।
त्यसैले अब न्यायालयको छवि थप धमिलिन र न्याय सम्पादनमा थप भ्रष्टाचार संस्थागत भएर निरपेक्ष दण्डहीनता आउने अवस्था रोक्नका लागि लगत्तै बस्ने संसदले उनीमाथि महाभियोग लगाएर हटाउनुको विकल्प छैन । साथै संसदले चिकित्सा शिक्षा अध्यादेशलाई पनि यथाशीघ्र ऐनमा परिणत गर्नेछ भन्ने विश्वास हामीले लिएका छौं । समयमै सही रूपमा ऐन पारित नभएको खण्डमा त्यसका लागि उचित कदम चाल्न हामी बाध्य हुनेछौं ।

Comments