‘सरकार ! भैरवबहादुर थापालाई चिनेका छौ ?’

- सिताराम बडाल

मेरो सांगीतिक क्षेत्रप्रतिको खोज तथा अनुसन्धानलाई सदैव प्रशंसा गर्ने संगीतकार सन्तोष श्रेष्ठसँग काम विशेषले ०७३ साल कार्तिक ३ गते बुधबार फोनमा कुराकानी भइरहँदा उनले भने, ‘तपाईंले भैरवबहादुर थापासँग अन्तर्वार्ता गर्नुभयो त ?’ मैले भने, ‘अहँ छैन’, ‘अलिक अगाडि नेपाल सांगीतिक संघले उहाँलाई सम्मान गरेको थियो र सोही कार्यक्रममा उहाँसँग मेरो भेट भएको थियो,’ श्रेष्ठले फोनमा भने, ‘बुडा त भयंकर नै रहेछन् नि, तपाईंको मयुर नृत्य, याक नृत्यलगायत विभिन्न नाचहरूको नेपालमा सुरूआत नै उनैले गरेका रहेछन् । बडो अद्भूत व्यक्ति रहेछन् नि, बुढा त !’ फोनमा उनको यो कुरा सुनिसकेपछि मैले भनेँ, ‘उहाँसँग कसरी सम्पर्क गर्ने होला त ? ‘बेलुकीसम्म म सम्पर्क नम्बर पत्ता लगाएर तपाईंलाई दिउँला’ भनेर उनले फोन राखे ।
तर त्यसदिन उनीबाट मलाई भैरवबहादुर थापाको सम्पर्क नम्बर प्राप्त भएन, तैपनि मैले भैरवबहादुर थापाको बारेमा केही खोज गरेर उनलाई सोध्ने केही प्रश्नहरूको तयारी भने बेलुकी नै गरिसकेको थिएँ । भोलिपल्ट बिहान ८ बजेतिर मैले पुनः संगीतकार श्रेष्ठलाई फोन गरेँ । उनले भने, ‘कसैसँग नम्बर छ भन्दैनन्, हेर्नुस् न, तर पनि धेरैलाई भनेको छु । पाउनेबित्तिकै म तपाईंलाई म्यासेज गरिहाल्छु ।’ त्यसको करिब १ घण्टापछि उनले मलाई म्यासेज गरी फोन गरे र भने, ‘हेर्नु न, बल्ल बल्ल महाराज थापाबाट नम्बर लिएर तपाईंलाई पठाएँ । छोराले दिएको नम्बर हो, यसमा पक्का सम्पर्क हुन्छ ।’
त्यतिबेला पो मैले थाहा पाएँ, भैरवबहादुर थापा अहिलेका नेपालका चल्तिका एरेन्जर महाराज थापाका बुबा रहेछन् भनेर । सम्पर्क नम्बर पाउनेबित्तिकै मैले उनलाई फोन गरेँ र आफ्नो परिचय दिई उनीसँग अन्तर्वार्ता गर्न चाहेको कुरा भनेँ । उनले भने, ‘कतिबेला आउनुहुन्छ त ?’ मैले ‘त्यस्तै दिउँसो २ बजेतिर पुग्छु होला बुबा’ भनेर भनेँ । सोहीअनुरूप २ बजे आसपासमै म आफ्नो क्यामेरा क्रिउसहित उनको निवासस्थानमा पुगेँ ।
भेट हुने बित्तिकै उनले भने, ‘ओहो ! तपाईं त क्यामेरा नै पो लिएर आउनुभएछ, मैले त तपाईं एक्लै आउनुहुन्छ भन्ने सोचेको थिएँ । मेरो बारेमा कत्तिको ज्ञान छ तपाईंलाई ?’ मैले त धेरै चलेका पत्रकारहरूले अन्तर्वार्ता गर्छु भनेर धेरै पटकभन्दा पनि उनीहरूसँग अन्तर्वार्ता गरेको छैन, किनकि, उनीहरूलाई मेरो बारेमा राम्ररी थाहा नै छ्रैन भने उनीहरूले कसरी मसँग अन्तर्वार्ता गर्न सक्छन् ?’ उनले यसरी कुरा गरिरहँदा मैले पनि आज अन्तर्वार्ता गर्न पाउँदिनजस्तो लागिरहेको थियो । तर, एकैछिनको केही अनौपचारिक कुराकानीपछि उनी मसँग अन्तर्वार्ताको लागि तयार भए ।
मैले नेपाली लोक नृत्य, ओपेरा, ब्याले आदि मात्र नभई साहित्यसँग सम्बन्धित रहेर उनलाई प्रश्न राखेँ । अन्तर्वार्ता सकिएपछि उनले भने, ‘तपाईंंले मेरो बारेमा जानकारी त राखेरै आउनुभएको रहेछ । अझ बढीचाहिँ तपाईंलाई यी पुस्तकबाट थाहा हुन्छ,’ भनेर ‘हिँड्दा हिँड्दै बनेका तस्बिरहरू’, ‘समर्पण’ र ‘भैरवलाई हेर्ने आँखाहरू’ गरी तीन पुस्तक आफ्नो अटोग्राफसहित मलाई दिए । यसपछि सुरू भयो मेरो भैरवबहादुर थापासम्बन्धी थप अध्ययन तथा अनुसन्धान ।
गोरखास्थित मनकामना देवीका पहिलो पुजारी आत्रेय गोत्रका सिद्धिप्राप्त तान्त्रिक लखन थापा, नरभूपाल शाहका बुबा राम शाहको दरबारमा हजुरीया भारदार भएर बसेका थिए । उनैका वंशज आत्रेय गोत्रका मानसिंह थापाका छोरा वीरबहादुर थापा श्री ५ पृथ्वी वीरविक्रम शाह तथा श्री ३ वीरशमशेर जंगबहादुर राणाका सवारी डिट्ठा थिए । नयाँ घोडालाई काबुमा ल्याउनु, रोगी–निरोगी छुट्याउनुका साथै घोडाको आयु पनि परख गर्न सक्ने खुबी भएकाले कलकत्ता वा लखनउबाट घोडा किनेर ल्याउँदा डिट्ठा वीरबहादुर थापालाई नै छनोट गरेर पठाइन्थ्यो भने राम्रोसँग बग्गी हाँक्ने क्षमता भएका उनी वीरशमशेरको सवारी चलाउने एक मात्र व्यक्ति थिए ।
यिनै डिट्ठा वीरबहादुर थापाले मुस्लिम जातिका शास्त्रीय संगीतज्ञ उस्ताद ताज खान (गायन) र ढुंडी खान (तबला) २ दाजुभाइलाई लखनउबाट नेपाल ल्याएका थिए । वीरबहादुर थापाका जेठा गोपालबहादुर, माहिला पद्मबहादुर, साहिँला कृष्णबहादुर, काहिँला पूर्णबहादुर र कान्छा नीलबहादुर गरी जम्मा पाँच छोरा थिए । यीमध्ये माहिला पद्मबहादुर थापाकी तेस्री श्रीमती ताम्बुलादेवीको गर्भबाट जेठी छोरी केशरीमैया, जेठा छोरा श्यामबहादुर, माहिला छोरा सिंहबहादुर, कान्छी छोरी मिश्रीमैया र कान्छो छोरा भैरवबहादुर थापाको जन्म भयोे ।
काठमाडौंस्थित कमलपोखरी टोलमा आफ्नो बाल्यकाल बिताउँदै गर्दा अध्ययनका लागि भारतको बनारस पुगेका थापाको जिन्दगीले त्यसपछि नयाँ मोड लिँदै गयो । १८ वर्षको उमेरमा ब्रिटिस गोर्खा आर्मीमा प्रवेश गरेपश्चात् भने उनले फस्र्ट सिक्स गोर्खा राइफलको कल्र्क पोस्टमा रहेर सिंगापुर र मलायामा काम गरे । ड्युटीका दौरान सन् १९५१ मा सिंगापुर निसुनमा ब्रिटिस गोर्खा आर्मीको मुख्य कार्यालय गोर्खा हेडक्वाटर (जिएचक्यु) र क्लेरिकल टे«निङ इन्स्टिच्युट सेन्टरमा अफिस तथा क्लास लिनका लागि पुगेका थापाको सन् १९५२ को जुलाई १० तारिखमा त्यहाँबाट मलायाको पेराक स्टेटको कौलाकांगसारमा सरूवा भयो भने त्यसको करिब तीन महिनापछि सो स्थानबाट मलायाकै पहाडी जंगल भएको ग्रिक भन्ने ठाउँमा ग्रिक होल्डिङ अफिसर बनाएर अक्टोबर १४ तारिखका दिन पुनः सरूवा गरियो ।
फेरि, त्यसको चार महिनापछि उनलाई सन् १९५३ फेब्रूअरी १५ तारिखका दिन कौलाकांगासारस्थित आफ्नो युनिटमा आइपुगेको केही समयपछि मार्च ४ तारिखका दिन जंगल वारका लागि पठाइयो । २८ दिने सजाय भुक्तान गरेर आर्मी अर्डरअनुसार जुन ६ तारिखका दिन ६ महिनाको छुट्टीमा घर जान पाउनेहरूको लिस्टमा परेर कौलाकांगसार, पेनाङ, रंगुन कलकत्ता हुँदै उनी काठमाडौं आए ।
काठमाडौंमा आएपश्चात् २०१० साल असार ८ गते आफ्नै घरमा नेपालका प्रसिद्ध नाटककार भीमनिधि तिवारीसँग भेट भएपश्चात् भने उनको जीवनले नयाँ मोड लियो । आर्मीमा रहँदा गायन, अभिनयदेखि नृत्यका विभिन्न कला प्रस्तुत गरेर सबैको मन जितेका भैरवबहादुर थापाले त्यसपछि भने ब्रिटिस आर्मीको जागिर त्यागिदिए । २०१० साल फागुन १० गते नाटककार बालकृष्ण समको उपस्थितिमा ‘भैरव नृत्य दल’ (सुरूमा कमलपोखरी टोलका केटाहरू मिलेर ‘बाल सखा दल’ खोलेकोे भए तापनि बालकृष्ण समको आग्रहमा भैरव नृत्य दल नाम राखिएको र समकै हातबाट २०११ साल जेठ २० गते उद्घाटन गरिएको) को स्थापना गरेर उनी त्यसपश्चात् नेपालमै सक्रिय हुन पुगे ।
नृत्यको इतिहास खोतल्दै जाँदा उनले प्रत्येक देशको शास्त्रीय नृत्य कुनै बेला भ्तजलययिनष्अब िम्बलअभ बाट सुरू भएको पाए । उनले विस्तार–विस्तार भ्तजलययिनष्अब िम्बलअभ, ँयपि म्बलअभ मा परिणत हुँदै यही ँयपि म्बलअभ नै पछि परिमार्जित भएर त्जभबतचष्अब िम्बलअभ को रूपमा प्रस्तुत भएको र अन्त्यमा त्जभबतचष्अब िम्बलअभ ले नियमित मञ्चन पाएपछि त्जभबतचष्अब िम्बलअभ नै ऋबिककष्अब िम्बलअभ बन्न पुगेको बुझ्न थाले ।
२०११ साल वैशाखको अन्तिमतिर उनी पहिलोपटक बालकृष्ण समको नेतृत्वमा सौखिन कलाकार समूहबाट ‘अमरसिंह’ नामक ऐतिहासिक नाटक प्रदर्शनका लागि दार्जि्लिङ र खर्साङमा पुगे र त्यहाँ पाएको सम्मान तथा आफ्नो अभिनयको तारिफले यस क्षेत्रमा अझ केही गर्ने उद्देश्यका साथ अघि बढे । सांस्कृतिक प्रस्तुतिका सिलसिलामा जुलाई ९, १९५६ मा चीनको क्यानटन होटलमा वास बसी त्यस साँझ नगरहलमा नेपालका तत्कालीन शिक्षामन्त्री एवं इतिहासविद् बालचन्द्र शर्माको नेतृत्वमा भैरवबहादुर थापा लगायतको सांस्कृतिक टोलीको कार्यक्रम हेरेपछि चीनका संस्कृतिमन्त्रीले ‘महान कलाकार अरनिकोपछि चीनको भूमिमा नेपाली सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने यस प्रतिनिधिमण्डलका कलाकारहरू नै पहिलो हुन् भन्ने मलाई लागेको छ’ भनेर भन्दा उनलाई धेरै खुसी लाग्यो । चीनको भ्रमणबाट थापाले लोक नृत्य, शास्त्रीय नृत्य अथवा कुनै पनि भावनृत्य को विकासका लागि सर्वप्रथम लोकनृत्य नै मूल आधार भएको बुझे ।
यससँगै उनको जीवनले नयाँ मोड लिँदै गयो । २०१२ सालदेखि नेपाली लोकनृत्यको अनुसन्धान गरेर लोकनृत्यलाई परिष्कृत गर्दै कथात्मक रूपमा ‘एकता’, ‘बाँच्नका निम्ति’, ‘विद्या’, ‘प्रतिध्वनि’, ‘अँध्यारोमा’ र ‘भुइँचालो’ जस्ता नेपाली ब्यालेहरूको सिर्जना गर्न सुरू गरेका थापाले नेपालको फूलबारी, उसैका लागि, नवरस, अस्तित्वको चेतना, गर्छिन् पुकार आमा, भाग्यरेखा, महानट, पिँजडाको सुगा, पृथ्वीनारायण शाहका चार पक्ष, युगको आह्वान, अँध्यारोमा नामक एब्स्ट्रयाक्ट प्ले र टेब्लो शैलीमा ‘भूइँचालो’ नाट्यको निर्देशनसमेत गरे । ‘नेपालको फूलबारी’ नेपालकै पहिलो गीतिनाट्य मानिन्छ । त्यस्तै, उनले मछुवा, रोयला, सेबु्र, सेलो, धामी, ढ्यांग्रे, प्रतिध्वनी तथा मिक्स नृत्यलाई समेत देश तथा विदेशमा चिनाए ।
२०१८ साल असार २३ गते तत्कालीन श्री ५ को सरकारको लोकसेवा आयोगबाट सर्वप्रथम नृत्य निर्देशकको पदमा नियुक्ति पाएका थापाबाटै पुरातत्व र संस्कृति विभागअन्तर्गत राष्ट्रिय नाचघरमा सर्वप्रथम सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिने कार्यको सुरूआत पनि भयो । यो पद नेपालको नृत्य इतिहासमै पहिलो मानिन्छ । उनले २०१९ सालदेखि ‘फूलबारी’ नामक ओपेराको सिर्जना गरेका थिए । त्यस्तै, २०२९ सालमा मयुर नृत्य, याक नृत्य, झाँक्री नृत्य र पद्मसम्भव नृत्यको सिर्जना गरेका थापाले २०३९ सालमा हेटौँडामा भएको प्रथम अन्तरनगर खेलकुदको सन्दर्भमा पहिलोपटक हेटौँडाको रंगमञ्चबाट दोहोरी गीतको प्रचलनको सुरूआत गरे । साथै, चलचित्रतर्फ भने थापाले तत्कालीन शाही नेपाल चलचित्र संस्थानद्वारा पहिलोपटक निर्माण भएको ‘मनको बाँध’ नामक कथानक चलचित्र तथा ‘पच्चिस वसन्त’ नामक चलचित्रमा समेत नृत्य निर्देशन गरे । प्रतीकात्मक नृत्यहरूबाट ख्याति कमाउन सफल थापाले सिर्जना गरेकै शैलीबाट नै आजको आधुनिक रंगमञ्चको मार्गदर्शन भएको हो भन्दा अत्युक्ति हुँदैन ।
भैरव नृत्यदलमा प्रत्येक कालखण्डमा फरकफरक कलाकारहरू आबद्ध भए । तीमध्ये कोकिल गुरूङ, सुष्मा शाही, मीना सिँह, बसुन्धरा भुषाल, भुवन चन्द, कुमार दर्शन नेपाली, अचुक नन्दन चालिसे, विश्वसेन भट्टराई, मोहनकान्त सिलवाल, मैयाँ राणा, सीता पाण्डे, धुर्जलाल कुलु, कुमार बस्नेत, मीरा राणा, तारा थापा (गायिका), तारा थापा (नृत्यांगना), मञ्जु थापा, जयनन्द लामा, धनबहादुर लामा, खेलबहादुर लामा, खीमबहादुर गन्धर्व, तीर्थबहादुर गन्धर्व, झलकमान गन्धर्व, कर्णबहादुर गन्धर्व, हरिवंश आचार्य, राम थापा मुख्य नामहरू हुन् । धेरैले भैरव नृत्यदलका संस्थापक भैरवबहादुर थापालाई नृत्यसम्राटसमेत भन्ने गर्दछन् । राष्ट्रले भैरवबहादुर थापाको खोज नगरे पनि भैरवबहादुर थापा यो राष्ट्रमा सधैँ भैरव नृत्यदलको मयुर भएर नाचिरहेकै छन् । अब पुनः भैरव नृत्यदललाई ब्युँझाउने उनको चाहना छ । इन्टरनेसनल फोल्क डान्स फेस्टिभलमा भाग लिन जाने भैरव नृत्यदल दक्षिण एसियाको पहिलो कल्चरल गु्रप हो ।
‘आफूलाई प्रसिद्ध कलाकार भनाउँदाहरू पनि दास प्रवृत्तिका थिए । कुनै सर्वश्रेष्ठ कलाकारले राजाको दर्शनभेट पाए पनि आफ्नो घरको छाना वा झ्याल फेर्नेबारे बिन्ति चढाउने गर्थे । राजा पनि यही बुझेर दास प्रवृत्तिका गायकहरूलाई मात्र रूचाउँथे । यस्तो स्थितिमा भगवान्को मन्दिरै मन्दिरको देश भनेर कहलाइएको ठाउँमा पनि मेरो लागि प्रार्थना गर्ने ठाउँ भएन । मैले सिर्जना गरेको याक नृत्य, मयुर नृत्यजस्ता सम्पूर्ण कार्यक्रमहरू मबाट लुटिए । प्रतिलिपि अधिकार ऐन लागू भएको थिएन ।’ थापाले हिँड्दा हिँड्दै बनेका तस्बिरहरू नामक पुस्तकमा व्यक्त गरेको भावनाले राम्रा काम गर्नेहरूलाई पहिले पनि खुट्टा तान्ने प्रवृत्ति रहेको स्पष्ट पार्छ । आफ्नै मिल्ने साथीहरूबाट जीवनमा पाएको धोकालगायत अन्य केही कुराले विरक्तिएका थापा निजानन्द स्वामी, अघोरी स्वामी रामनाथ, सचितानन्द, अर्जुन महाराज लगायतको संगतबाट भने ज्योतिष समेत भए । उनी रावणसंहिताका ज्योतिषी पद्धतिमा विश्वास गर्ने ज्योतिष हुन् ।
उनको बारेमा बालकृष्ण सम, लक्ष्मीप्रसाद देवकोटा, बिपी कोइराला, पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी लगायतले मात्र शब्द खर्चेका छैनन् कि, नजिकबाट चिन्नेहरू उत्तम नेपाली, कृष्णचन्द्रमान सिंह प्रधान, चेतन कार्की, धर्मराज थापा, मदनमणि दीक्षित, माधवप्रसाद खनाल ‘भावुक’, प्राडा मोहन हिमांशु थापा, सिके रसाइली, रत्नशमशेर थापा, सत्यमोहन जोशी, श्यामदास ‘वैष्णव’, शंकर लामिछाने, शशिविक्रम थापा, सिद्धान्तराम जोशी, विजय थापा, वासुदेवशरण कोइराला, वसन्तकुमार शर्मा ‘नेपाल’, लक्ष्मण लोहनी, राममान प्रधान, रमेश खकुरेल, लक्ष्मणशमशेर थापा लगायतले उनले नेपालको इतिहासमै कसैले गर्न नसकेको काम गरेको भन्दै प्रशंसासमेत गरेका छन् ।
विभिन्न स्थानमा नृत्य प्रशिक्षण गरेका थापाले आफ्नो जिम्मेवारी बहन गर्ने तथा देशको नाम उँचो राख्ने कार्यमा कुनै कसर बाँकी राखेनन् । छिमेकी मित्रराष्ट्र चीन, भारतका दार्जि्लिङ, खर्साङ, आसाम, दिल्ली, देहरादुन तथा तत्कालीन सोभियत संघ, पश्चिम जर्मनी, बेल्जियम, युगोस्लाभिया, स्विट्जरल्यान्ड, फ्रान्स लगायका विभिन्न देशमा पुगेर उनले नेपाली कला, संस्कृतिको प्रदर्शन तथा प्रवद्र्धन मात्र गरेनन्, नेपालको नामसमेत चिनाएर आए । उनको यस क्षमताको तारिफ गर्दै तत्कालीन राजा त्रिभुवन, महेन्द्र तथा वीरेन्द्रले बधाईसमेत दिएका थिए । राजा वीरेन्द्रले ‘काठमाडौंमा पनि देख्न नपाएको ऐतिहासिक नृत्य हेटौँडामा आएर देख्न पाएँ’ भन्दै उनको प्रशंसा गरेका थिए ।
ती दिनहरूमा नेपाल भ्रमणमा आएका विदेशी विशिष्ट अतिथिहरू भारतका राष्ट्रपति राजेन्द्रप्रसाद (२२ अक्टोबर, १९५६), गणतन्त्र चीनका प्रधानमन्त्री चाउ–ऐन–लाई (७ डिसेम्बर, १९५६), भारतका प्रधानमन्त्री जवाहरलाल नेहरू (वि.सं २०१६), सोभियत संघका राष्ट्रपति मार्सल भोरोसिलोभ (१० जुन, १९५९), संयुक्त अधिराज्यकी महारानी एलिजावेथ द्वितीया (२५ फेबु्रअरी, १९६१), भारतका विनाविभागीय मन्त्री लालबहादुर शास्त्री (फेबुअरी, १९६१), बर्माका प्रधानमन्त्री उनू (८ जनवरी, १९६२) लाई उनले सांस्कृतिक कार्यक्रमद्वारा नेपालमा स्वागत गर्ने अवसरसमेत पाए । त्यस्तै, पाकिस्तानका राष्ट्रपति अयुब खाँ (१०मे, १९६३), भारतका राष्ट्रपति डा. सर्वपल्ली राधाकृष्णन (५ नोभेम्बर, १९६३), एडिनवर्गका राजकुमार फिलिप (१४ मार्च, १९६५), पश्चिम जर्मनीका राष्ट्रपति हेनरिच लुब्के (१२ मार्च, १९६५), गणतन्त्र चीनका उपप्रधान तथा परराष्ट्रमन्त्री मार्सल चेनी यी (३१ मार्च, १९६५), पाकिस्तानका राष्ट्रपति आगा मुहम्मद याहया खाँ (२८ सेप्टेम्बर, १९७०) लाई नेपाल आएका बखत थापाले नै सांस्कृतिक कार्यक्रममार्फत स्वागत गरेका थिए ।
उनले चीनका कम्युनिस्ट पार्टीका संस्थापक अध्यक्ष माओत्सेतुङ, प्रधानमन्त्री चाउ–एन–लाई तथा डा. सनयात् सेनकी श्रीमती सुंग चुंग लिंग, रूसका राष्ट्रपति भारोसिलोव, भारतका राष्ट्रपति जाकिर हुसेन, पाकिस्तानका मुहम्मद याह खाँ, युगोस्लाभियाका मार्सल टिटो, भारतका प्रधानमन्त्री पं.जवाहरलाल नेहरू र बेल्जियमकी महारानी फेबु–ओलासँग भने भेट गर्ने अवसरसमेत पाए् ।
आफनो देशको कला तथा संस्कृतिको जगेर्नाका साथै प्रवद्र्धनमा लागेका थापा जनकविकेशरी सावित्री थापा पुरस्कार (२०५५ श्रावण १), भूपालमानसिंह कार्की प्रज्ञा पुरस्कार (२०५९ बैशाख ३१), उत्तम शान्ति पुरस्कार (२०६६ जेठ १२), कल्याण शेरचन स्मृति सम्मान (२०७० माघ २४), राष्ट्रिय प्रज्ञा पुरस्कार (२०७२ श्रावण ३) लगायतका विभिन्न सम्मान, पुरस्कार तथा उपाधिबाट सम्मानित भइसकेका छन् ।
कवि, नृत्य निर्देशक, साहित्यकार तथा ज्योतिष थापाका नेपाली नृत्य र शारीरिक प्रवेशिका भाग १, २, ३ (कक्षा ६, ७, ८ का विद्यार्थीहरूका लागि २०२२ सालमा प्रकाशित), ढोका नामक कविता संग्रह (वि.सं. २०३०), हिँड्दाहिँड्दै बनेका तस्बिरहरू (वि.सं. २०६५), समर्पण (वि.सं. २०६८), हिमानी नाट्य मिमांशा (वि.सं २०७२) लगायतका पुस्तकहरू सार्वजनिक भइसकेका छन् भने नृत्याक्षर विज्ञान, नेपालका लोक नृत्यहरू, भैरवको फूलबारी लगायतका पुस्तकहरू सार्वजनिक हुने तयारीमा छन् । नृत्याक्षर विज्ञान पुस्तक नेपालीहरूले गौरव गर्नुपर्ने र अहिलेसम्म विश्व इतिहासमै नगरिएको कार्य हो । विश्वमा संगीतको नोटेसनमा विभिन्न पुस्तकहरू छापिएका छन्, तर डान्स नोटेसनसहितको पुस्तक भने सार्वजनिक भएको देखिँदैन ।
थापाले चीनको डाई, भारतको कत्थक, युरोपको ब्याले बलरूम, जापनिज फ्यान, अरेबियन टेम्बोरियन डान्सलाई उदाहरणको रूपमा आफूले सिर्जना गरेको नोटेसनसहित यस पुस्तकमा पेस गरेका छन् । उनको यस पुस्तक अंग्रेजी, हिन्दी, अरेबियन, जर्मन, फ्रेन्च तथा चाइनिज भाषामा सार्वजनिक हुँदैछन् । त्यस्तै, यस पुस्तक यी सबै देशका राष्ट्रप्रमुख तथा कार्यकारी प्रमुखको हातबाट विमोचन गराउने उनको चाहना छ र यस चाहनाले सार्थकता पाउने लगभग पक्का पनि भइसकेको छ । ८५ वर्षको उमेरमा थापाले गरेको यस कार्यलाई वर्तमान राज्यव्यवस्थाले केही वास्ता गरेको छैन ।
उनी नेपालको कला र संस्कृति हराउँदै गयो भनेर धेरै चिन्तित देखिन्छन् । यदि इतिहासमा आफ्नो नाम राख्ने हो भने सरकारले तथा सम्बन्धित निकायहरूले यथाशीघ्र उनको अभिलाषालाई मद्दत पु¥याउन सहयोग पुग्ने काम गर्न जरूरी छ । इतिहास भनेको जिउँदै लेख्नु तथा हेर्नु पो राम्रो हो, निधन भएपछि गरेको प्रशंसाले त केही काम गर्ने छ्रैन र यसको महत्व पनि त्यति रहने छैन ।
अन्तर्वार्ता लिएर कार्यक्रम प्रसारण भएपश्चात् मैले उनको प्रतिक्रिया मागेँ । उनले भने, ‘तपाईको सम्पादन क्षमता बडा गज्जबको रहेछ । मलाई धेरै खुसी लाग्यो ।’ उनीजस्तो व्यक्तित्वबाट पाएको प्रतिक्रियाले मलाई धेरै हौसला दिएको छ । आगामी दिनमा यस्तै खोज तथा अनुसन्धानमा निरन्तर लागिरहने वाचा गर्दछु । त्यसयता मैले उनलाई तीनपटक भेटेँ । मेरो जीवन तथा कार्यलाई अघि बढाउन उनले दिएका सल्लाह, सुझाव मेरा लागि मार्गदर्शन बनेका छन् । मेरो भौतिक शरीरले यस संसार नछाडेसम्म उनको सम्झना मेरो स्मृतिमा सधैँ बसिरहनेछन् । साभार ः सौर्यडेली डट कम

Comments