सुुनका कारण साथीको हत्या

काठमाडौं । पछिल्लो समय पूर्वी नेपालमा अपराधिक घटनाको क्रम बढेको छ । शनिवार बिराटनगर महानगरपालिका– ३ स्थित गोधुली मार्गबाट हत्या गरिएको शवसहित पक्राउ परेका तीन जनालाई प्रहरीले सार्वजनिक गर्दै पूर्वी नेपालमा पनि सुन तस्करको ठूलो जालो रहेको हुनसक्ने बताएको छ । प्रहरीले हत्यामा संलग्नहरूलाई गत (आइतवार) सार्वजनिक गर्दै नाटकीय ढंगबाट भएको हत्याको बारेमा थप अनुसन्धान भइरहेको जनाएको प्राप्त समाचारमा उल्लेख छ ।
मोरङको उर्लावारी नगरपालिका– ७ का ३६ वर्षीय सनम शाक्यका नरेन्द्र कार्की, टेकराज मल्ल लगायत साथीहरू थिए । विगत केही वर्षदेखि नै उनीहरू सनमको घरमा आउजाउ गरिरहन्थे । त्यो क्रम केही वर्ष अघिदेखि नै जारी रहेको थियो । १७ गते पनि त्यही रूपमा सनम एकाएक गायव भए । साथीहरूसँग गएको हुनसक्ने परिवारले अड्कल काटे । अपहरणको शैलीमा यी सबैले शाक्यलाई बिराटनगरबाट इटहरीको होटेलमा लगेर एकदिन राखेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । जिल्ला प्रहरी कार्यालयका मोरङका प्रमुख प्रहरी उपरीक्षक अरूणकुमार बिसीका अनुसार त्यसपछि शाक्यलाई इटहरीबाट सिराहा लगेको देखिएको छ । त्यहाँ केही यातना दिइएपछि शाक्यलाई फर्काएर मोरङकै उर्लावारी नगरपालिका १ स्थित सोल्टी खोलाको किनारको जंगलमा हत्या गरेको बिसीले बताए । हत्या गरेपछि उनीहरूले सनमको शवलाई बा १२ च ५९६३ नम्बरको स्कारपीओ गाडीमा हालेर नहरै नहर नेपाल–भारत सीमातर्फ लैजाँदै गर्दा पक्राउ परे ।
महानगरीय प्रहरी अपराध महाशाखा टेकु काठमाडौंबाट खटिएको प्रहरी टोलीले जिल्ला प्रहरी कार्यालय मोरङसँग समन्वय गरी खोजतलास गर्ने क्रममा शनिवार दिउँसो शवसहित तीनजना र दुईवटा गाडी नियन्त्रणमा लिएको थियो । प्रहरीले चेकिङ गर्ने क्रममा भागेर दक्षिणतर्फ जाँदै गरेको गाडी फेरि उत्तरतर्फ मोडिएको थियो । दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको बा १२ च ५९६३ नम्बरको सेतो रंगको स्कारपीओ र त्यही गाडीको पछाडि रहेको मे १ च ५३९५ नम्बरको गाडीलाई बिराटनगर ३ को गोधुली मार्गमा प्रहरीले फेला पा¥यो । चेकजाँच गर्ने क्रममा प्रहरीले एउटा गाडीमा शव भेट्यो भने अर्को गाडीमा फिरन्ते रूपमा लामो समय जंगलमा बस्दै हिँड्ने व्यक्तिका लागि आवश्यक पर्ने सबै बन्दोबस्तीका सामान फेला पा¥यो ।
चेकजाँच गर्दा उक्त गाडीभित्र कालो म्याट्रेस, त्रिपाल र तौलियाले लुकाई राखेको शव, करेन्ट लगाउन प्रयोग गरिएका तार जोडिएका ब्याट्रीहरू समेत फेला परे । प्रहरीले उनीहरूलाई पक्राउ गरेर सोधिखोजी गर्दा उक्त शव सनमको बताए ।
प्रहरीले शवसहित पक्राउ गरेकामा काभ्रे मन्डन देउपुर गाउँपालिका वडा नं. १२ का टेकराज मल्ल ठकुरीले चलाएको बा१२च ५९६३ नम्बरको गाडीमा शव भेटिएको थियो । ठकुरीसहित मे१च ५३९८ गाडीका चालक मोरङको उर्लावारी नगरपालिका– ५ का मोहन काफ्ले र सोही गाडीमा रहेका उर्लाबारी– ७ का कृष्ण भन्ने नरेन्द्र कार्कीलाई प्रहरीले पक्राउ ग¥यो ।
प्रहरीले सनम शाक्यको हत्या सुन तस्करीसँग मिलेको बताएको छ । ‘पक्राउ परेका तीनजना लगायतका अन्य व्यक्तिहरूको समेत संलग्नतामा आर्थिक लेनदेन भएको कारणले शाक्यको हत्या भएकोे खुलेको छ,’ मोरङका प्रहरी उपरीक्षक बिसीले भनेका छन्, ‘विगत एक महिना अघि काठमाडौंबाट हराएको (लुटिएको भनिएको) साढे ३३ किलो सुनको विषयलाई लिएर सनम शाक्यलाई कुटपिट गरी करेन्ट लगाई हत्या भएको देखिन्छ ।’
पक्राउ परेका तीन जनाविरूद्ध संगठित अपराध तथा अपहरण गरी कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता गरी आइतवार नै मोरङ जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरिएको छ । प्रहरीले हत्यामा संलग्नसँगै उनीहरूले प्रयोग गरेका बन्दोबस्तीका सामानहरू समेत सार्बजनिक गरेको छ ।

Comments