अत्यन्त भयावह दुर्घटना !

ढाकाबाट काठमाडौं आएको युएस बंगलादेश एयरलाइन्सको विमान गत फागुन २६ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त भयो । त्यस भयानक दुर्घटनाबाट शोकाकुल परिवारका रसाएका आँखा अझ ओभाएका छैनन् । नेपाल र बंगलादेश दुवै मुलुकका कयौं परिवारले आफ्ना प्रिय आफन्त गुमाउनु परेको पीडा जीवनभर असह्य भएर रहने स्थिति उत्पन्न भएको छ । जम्मा७१ जना यात्री रहेको त्यस विमानमा ३३ जना नेपाली ३६ बंगलादेशी १ चिनियाँ र १ माल्दिभ्सका नागरिक थिए । दुर्घटनामा ज्यान गुमाउने ४९ जना भए भने अस्पतालमा अहिलेसम्म २२ जनाको उपचार भइरहेको छ । नेपालमा भएको यो आठौं अन्तर्राष्ट्रिय विमान दुर्घटना हो । काठमाडौंको आकाश अन्तर्राष्ट्रिय हवाइजहाज अवतरण र उडानका निम्ति असुरक्षित छ भन्ने नकारात्मक धारणालाई यस दुर्घटनाले फेरि पनि पुष्टि गर्ने प्रयत्न उड्डयन क्षेत्रबाट भयो भने हाम्रो निम्ति त्यो दुर्भाग्यपूर्ण हुनेछ ।
यस दुर्घटनाले नेपालको स्वास्थ्य उपचारका क्षेत्रमा निकै ठूलो क्षति पु¥याएको छ । नेपालका क्षमताशील न्यूरो सर्जन डा. बालकृष्ण थापासहित बंगलादेशमा एमबीबीएसको अन्तिम परीक्षा सकेर स्वदेश फर्केका ११ जना नेपाली पनि परेका छन् । स्वास्थ्य क्षेत्रमा आफ्नो क्षमता प्रदर्शन गर्ने तिनको सपनाले मूर्तरूप लिन नै पाएन । स्वास्थ्य उपचारका क्षेत्रमा आफ्ना सन्ततिको सक्रियता हेर्ने अभिभावकको रहरमा निकै ठूलो कुठाराघात ग¥यो त्यस भयावह दुर्घटनाले । आफ्ना प्रियजन गुमाउने परिवारको पीडा भुक्तभोगीले मात्र थाहा पाउने कुरा हो । अत्यन्त मार्मिक पीडा भोग्नु परेको छ तिनले ।
यस्तो दुर्घटना वायुसेवा निगम र विमान चालकहरूका असावधानीबाट नै प्रायः हुने गर्दछन् । यस दुर्घटनामा पनि त्यस्तै भएको प्राथमिक अनुमान गरिएको छ । एयर ट्राफिक कन्ट्रोलरले सावधान गराउन खोज्दा खोज्दै पाइलटले गलत दिशाबाट विमान ओराल्न खोज्दा दुर्घटना भएको नागरिक उड्डयन प्राधिकरणको भनाइ आएको छ । तर युएस बंगलादेश एयरलाइन्सले भने नेपालको एयर ट्राफिक कन्ट्रोलको लापरबाहीकै कारण दुर्घटना भएको दावी गरेको छ । सरकारले दुर्घटनाबारे छानबिन गर्न ६ सदस्यीय समिति गठन गरेको छ । बंगलादेशबाट सम्बन्धित मन्त्रीको टीमसहितको उपस्थिति पनि भैसकेको छ । दुवै देशका टोलीको समन्वयात्मक अनुसन्धानबाट दुर्घटनाको वास्तविक कारण बारेको सत्यतथ्य बाहिर आउने विश्वास जनमानसले गरेको छ । भविष्यमा यस्ता दुर्घटना नहुन छानबिन समितिको रिपोर्ट लाभदायक ठहरिने छ । नागरिक उड्डयनका क्षेत्रमा नेपाली आकाशको उपादेयताको विश्वसनीयता त्यस रिपोर्टले पुष्टि गर्ने छ भन्ने आशा गर्नु स्वाभाविकै हो ।
नेपालमा एउटा मात्र अन्तर्राष्ट्रिय विमानस्थल पर्याप्त छैन भन्ने कुरा यसपटकको दुर्घटनाले पनि प्रमाणित गरेको छ । बंगलादेशको विमान दुर्घटनाका कारण त्रिभुवन विमानस्थलमा अवरोध हुँदा तीन चारघण्टासम्म राष्ट्रिय अन्तर्राष्ट्रिय उडानहरू अवतरण हुन सकेनन् । ती उडान अन्यत्र पठाइए । नेपालमै अरु ठूला एयरपोर्ट भएका भए त्यस्तो स्थिति हुँदैनथ्यो । यस घटनाबाट शिक्षा लिएर निजगढ, पोखरा र भैरहवामा प्रस्ताव गरिएका अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अविलम्ब सम्पन्न गर्न सरकारले सक्रियता देखाउन विलम्ब गर्नु हुँदैन । त्रिभुवन विमानस्थलले मात्र अब अन्तर्राष्ट्रिय उडानको अवतरण–उड्डयन धान्न सक्तैन । राष्ट्रिय आवश्यकताका यी कुरामा सरकार तत्पर भएर लागिपर्ने छ भन्ने आशा हामी गर्दछौं ।
अन्त्यमा, युएस बंगलादेश एयरलाइन्सको विमान दुर्घटनामा पर्ने सम्पूर्णका आफन्त जनमा हार्दिक समवेदनासहित उपचाररतहरूमा स्वास्थ्यलाभको कामना गर्दछौं । यस्तो भयावह दुर्घटना आइन्दा नहोस् यही कामना गरौं !

Comments