विष्मात र हर्षको जीवन

- देवेन्द्र गौतम

हर्ष, विष्मात–जीवनका अभिन्न अवस्था हुन् । कहिले रुनुपर्छ, कहिले खुशीले गद्गद् भइन्छ । यही जीवन संघर्ष हो । दुःख आइपर्छ, त्यसलाई सहनु, सामना गर्नुपर्छ । एक दिन खुशी हुने दिन पनि आउँछ । बितेको साता हामी नेपालीले विष्मात र हर्ष दुवै व्यहो¥यौं ।
गएको सोमबार त्रिभुवन विमानस्थलमा ओर्लिसकेको युएस बंगला विमान दुर्घटना भयो । गन्तव्यमा ओर्लिसकेको खुशीमा ताली बजाउँदै गरेका यात्रु त्यही खुशी सँगसँगै जल्नुप¥यो । २२ जना यात्रु बाहेक ४९ जनाको निधन भयो । कल्पना गर्दा पनि भक्कानो आउँछ– घर खेत बेचेर चिकित्साशास्त्र पढेर दक्ष बनी राष्ट्रसेवा गर्ने चाहनासहित स्वदेश फर्केका विद्यार्थीहरूले विमानस्थलमा कुरेर बसेका आफन्तलाई देख्न पाएनन् । खाना–खाजा तयार पारिराख्नु है आमा भनेर विमानमा चढेका ती विद्यार्थीकी आमाले पकाएको खाना खाजा भाँडैसहित फाल्नुप¥यो । कठै ती विद्यार्थी र परिवारको सपना सेलायो ।
जानीजानी त यस्तो भयङ्कर दुर्घटना किन पो हुन्थ्यो र ? तर भुइँमा ओर्लिसकेपछि पनि विमानले सही बाटो लिन सकेन । के कारण ? छानबिन प्रतिवेदनले भन्ला नै तर फेरि यस्तो हुन नदिने सबै उपाय अपनाइनै पर्छ ।
त्यही दुर्घटनाले विचलित नेपाली मनहरूलाई लगत्तै हर्षले विभोर पा¥यो । हर्षविभोर पारिदिएका हुन्–तीस वर्षदेखि आलु, च्युरा र चियाका भरमा खेलिरहेका क्रिकेट खेलाडीले । जिम्बाबेमा भएको एकदिवसीय विश्वकप छनोटमा पर्न सफल भयो नेपाल । यो नेपाली क्रिकेटका लागि ऐतिहासिक उपलब्धि र अवसर भएको छ । मुलुकलाई यो सफलता दिलाएको राज्यको लगानीले होइन, खेलाडीकै मेहनतले हो भन्नुपर्छ । राष्ट्रको गौरव बढाउने क्रिकेट टिमलाई बधाइ । मुलुकलाई हर्षित पार्ने क्रिकेट खेलाडीलाई प्रोत्साहन, अवसर दिलाउनुपर्ने क्रिकेट संघ चाहिँ विभाजित, विवादित रहिरहनु दुःखद पाटो छ । विवादरहित क्रिकेट संघ बनेर अब नेपालमै अन्तर्राष्ट्रिय क्रिकेट प्रतिस्पर्धाहरू आयोजना गर्ने, क्रिकेट मैदानहरू निर्माण गर्नेतर्फ अविलम्ब पहलकदमी चालिनु आवश्यक छ ।
क्रिकेट जस्तै फुटबलतर्फ पनि आलु, च्युराका भरमा खेलिरहेका खेलाडीले बेला–बेलामा देशबासीलाई हर्षित पार्ने गरेका छन् । तिनीहरूप्रति राज्यको खासै लगानी छैन । फुटबल मैदानहरू स्तरीय बनाइएको छैन । फुटबल संघमा वाह्य सहयोग प्राप्त गरी पदाधिकारीको मात्रै गोजी भर्ने धन्दा चलिरहेको छ । यस्तो प्रवृत्ति अन्त्य गरी खेलाडी उत्पादन गर्नेतर्फ राज्यको विशेष ध्यान जानुपर्छ ।
संसदको तीन चौथाई बहुमत प्राप्त सरकार छ अब । यति शक्तिशाली सरकारले गर्नु त धेरै छ, तर पनि क्रिकेट र फुटबलप्रतिको युवा लगावलाई प्रवद्र्धन गरे राष्ट्रको गौरव बढाउनेसँगै खेल पर्यटनको विस्तार गरी राष्ट्रिय आम्दानी बढाउन सकिने छ ।
सरकारप्रति जनताका अपेक्षा ठूला छन् । ती अपेक्षा बढाउने काम स्वयं सत्ता सञ्चालक दलहरूले गरेका हुन् । गोरखापत्रको ‘मोटो’ ‘सर्वे भवन्तु सुखिन सर्वे सन्तु निरामया…’को मर्म हेक्का राखेर त्यो अवस्था सिर्जना गर्न सरकार अगाडि बढ्नु आवश्यक छ । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धि र सुख प्राप्तिको आकांक्षा जगाइदिनु भएको त छ तर के विगतको जस्तै कार्यशैलीले हामी गन्तव्यमा पुगौंला ? आलोचकहरूले प्रधानमन्त्रीलाई सपनामात्र देखाउने, टुक्का बढी हाल्ने भन्ने आरोप लगाउने गरेका छन् । ती आरोप खण्डित गर्ने काम प्रधानमन्त्रीले आफ्नो टिममार्फत गर्नैपर्छ ।
यसै सन्दर्भमा यो स्तम्भकार पनि यहाँ तीनवटा टुक्का स्मरण गर्न चाहन्छ । १) हुने बिरुवाको चिल्लो पात । २) नयाँ मुल्लाले बढी प्याज खान्छ । ३) नेप्परसिं देउताले छोएपछि मान्छे बिग्रिन्छ ।
प्रधानमन्त्री ओलीले आफ्नो मन्त्रिपरिषद् विस्तार गर्न झण्डै एक महिना लगाउनुभयो । कतिपयले यही विलम्बलाई देखाउँदै प्रधानमन्त्रीको आलोचना पनि गरे । तर विगतमा पाँच दर्जनभन्दा बढी सदस्यीय मन्त्रिपरिषद् बनाइने गरेको अभ्यास निर्वाचितमध्ये एकसेएक अब्बल र दावेदार नेताहरू, प्रमुख प्रतिपक्षबाहेक अरु सबै दललाई समेट्ने सदिच्छा आदि पृष्ठभूमिमा एक महिना लगाउनु आपत्तिजनक मानिनु पर्दैन । जसै मन्त्रिपरिषद् तेस्रो पटक विस्तार गरियो लगत्तै प्रधानमन्त्रीले नेपाल सरकारका सचिवहरूलाई राखेर प्रभावकारी कार्य र सदाचारका लागि कडा निर्देशन दिनुभएको छ । प्रधानमन्त्री, मन्त्रीहरूले यस्ता निर्देशनहरू विगतमा पनि दिन्थे तर काम हुँदैनथे यसपटक प्रधानमन्त्री ओलीले स्पष्ट शब्दमा अति कडै रूपमा निर्देशन दिनुभएको छ । हुने बिरुवाको चिल्लो पात भने झैं प्रधानमन्त्रीको प्रतिबद्धता र निर्देशन जस्तै केही कार्यको आरम्भ सकारात्मक छ । केही मन्त्रीहरूले नयाँ शुरुआत गरेका पनि छन् ।
त्यसो त कतिपयले प्रधानमन्त्री, मन्त्रीहरूका भनाइ र योजना सुनेर नयाँ मुल्लाले बढी प्याज खान्छ भनेझैं हो पनि भन्छन् । शुभकामना छ त्यस्तो नहोस् । यतिखेर त सरकार गठन भएको एक महिना भए पनि संघीयता कार्यान्वयन थालनी भएको तर यसलाई चलायमान बनाउने संरचना, कानुनहरू नै नभएको अवस्था छ । कानुन अभावमा प्रदेश सरकारले काम गर्न सकेका छैनन् । केन्द्र सरकारकै निकायहरूको संयोजन गर्न समय खर्च गर्नु परेको छ । यो यथार्थ ख्याल गर्दा तत्काल सरकार दौडने अपेक्षा गर्नु पनि बढी नै हुन्छ तर अब कानुनहरू निर्माण र जनसरोकारका प्रत्यक्ष विषयमा सरकार प्रभावकारी ढंगले लागिहाल्नुपर्छ ।
अहिले प्रधानमन्त्री ओलीलाई एउटा आरोप चाहिँ छ– मन्त्रिपरिषद् विस्तार गर्दा आफ्नो गुटमात्र रोज्नुभयो । हो, देखिन्छ त्यस्तो । तर आफ्नो सरकार टीममा को–कसलाई राख्दा काम प्रभावकारी बनाउन र आपूm सफल हुन सकिन्छ भन्ने मूल्यांकन र निर्णय गर्ने अधिकार प्रधानमन्त्रीकै हो र त्यो पनि उहाँको पार्टीले जिम्मेवारी दिएको हो । यसो भए पनि आफ्नो गुटमात्र नहेरी आफ्नो पार्टीभित्रका सबै पक्षलाई समेटेको भए उहाँकै छवि राम्रो हुन्थ्यो । आफैंले ‘जनतासमक्ष जिताउनुस् मन्त्री म बनाउँछु’ भन्दै मत मागेका योगेश भट्टराईलाई अहिले किन मन्त्री बनाउनु भएन भन्ने प्रश्नमा धेरैको समर्थन देखिन्छ । यस्तै मन्त्रिपरिषद् विस्तार गर्दा प्रदेश–जिल्लाहरूको सन्तुलन पनि मिलाइएको छैन । प्रधानमन्त्रीले यस्तो प्रश्नहरू उठ्न नदिने व्यवहार गर्दा उहाँकै छवी राम्रो बन्ने छ । उहाँ आफ्नो सानो गुटको मात्र होइन, ठूलो पार्टीको नेता बन्न सक्नुपर्छ ।
यो मन्त्रिपरिषद् विस्तारमा बाजी मार्नुभयो काभ्रेका गोकुल बास्कोटाले । विगतका पत्रकार गोकुलले सांसद बनेको पहिलो पटकमै सूचना तथा सञ्चार राज्यमन्त्री पाउनुभयो–बधाइ छ । उहाँलाई बधाई दिनेक्रममा कतिपयले सामाजिक सञ्जालमा मेरा चेला, गुरु, सहकर्मी आदि इत्यादि भनेर लेखेका देखिन्छ । चाकडी गर्न पुगे होलान् कति । यो स्तम्भकारको सुझाव छ–राज्यमन्त्री बास्कोटालाई–तपाई पनि सानो घेराभित्र नबस्नु होला । चाकडी चुक्लीलाई विश्वास नगर्नु होला । तपाईसँगको सम्बन्ध देखाएर खाने प्रवृत्तिबाट सतर्क रहनु होला । पत्रकारिता गरेकै व्यक्ति भएकोले यो क्षेत्रको समस्याबारे जानकार हुनुहुन्छ नै, समाधानको पहलकदमी लिनुहोला !
अन्त्यमा, एउटा पारिवारिक कार्यक्रममा सहभागी हुँदा देखिए एक जनप्रतिनिधि । विगतमा नगरपालिकाका प्रमुख हुँदा राम्रै छवि बनाएका उनी यसपटक प्रदेश सभातर्फ पार्टीभित्रको गुटबन्दीका आधारमा राम्रै पद पड्काए । पारिवारिक कार्यक्रममा सुरक्षाकर्मीसहित आएका उनी अहिले त फेरिएछन् । अरुसँग बोल्दा मुखै बिग्रन्छ, पद घट्छ जस्तो ठानेर गमक्क परी बसेका उनलाई देखेपछि सम्झना भयो– नेप्परसिं देउताले छोएको मान्छे भन्ने टुक्का । अचेल काठमाडौंमा नेप्परसिं देउता छ कि म¥यो कुन्नि तर त्यो टुक्काले यस्तै मान्छेलाई विभूषित पार्छ । अरुलाई नेप्परसिं देउतालाई नछोओस्–शुभकामना ।

Comments