शीर ठाडो पारौं

- देवेन्द्र गौतम

इतिहासमै पहिलो समावेशी, संघीय, लोकतान्त्रिक संविधानबमोजिम सम्पन्न निर्वाचनको पर्यवेक्षण गर्न पाएको युरोपियन युनियनले आफ्नो प्रतिवेदनमा नेपालको बहुसंख्यक जाति विशेष विरुद्धको प्रतिवेदन सार्वजनिक ग¥यो । त्यो प्रतिवेदनप्रति नेपाल सरकारका तर्फबाट कडा आपत्ति प्रकट भएको छ । प्रधानमन्त्री केपी ओलीले ईयूले नेपाललाई हेपेको टिप्पणी गर्दै प्रतिवेदन सच्याउन भन्नुभएको छ । नेपाललाई खासै ठूलो सहयोग नगरेको ईयूले नेपालको समावेशी चरित्रको संविधान वेवास्ता गर्दै कुनै जाति विशेषविरुद्ध प्रतिवेदन तयार पार्नु उसको क्षेत्राधिकार, कूटनीतिक आचरणविरुद्ध नै हो ।
तर, ईयूले किन नेपाललाई हेप्यो ? त्यो आँट कसरी ग¥यो ? अहिले यतातर्फ पनि गम्भीर भएर सोचिनुपर्छ । खेदजनक पाटो छ–नेपाली कतिपय नेता, बुद्धिजीवी, समाजसेवा र अधिकारकर्मीका नाममा ईयू लगायत विदेशी सहयोग खाने, पचाउने र डकार्नेहरू छन् । पैसा आउने भएपछि नेपाली समाज, राष्ट्रको पर्वाह नगरी दाताले जे भन्छन् त्यही नारा लगाउनेहरू छन् । आम नेपाली जनमत नबुझी विदेशीकै चाहनाअनुसार संविधानमा कतिपय प्रावधान राखिएको छ । चुनावमा जाँदा हिन्दुराष्ट्र नेपालको नारा लगाउने तर उनीहरूले नै हिन्दू–बौद्ध धर्मविरुद्ध क्रिश्चियन धर्म प्रचार गर्ने ईयू सम्बद्ध अन्तर्राष्ट्रिय संस्थाबाट सहयोग लिने राजनीतिकर्मी पनि हामीलाई थाहै छ । ईयूको अभिव्यक्तिप्रति ओठे जवाफ दिनुभएका प्रधानमन्त्री केपी ओलीकै पार्टीमा आवद्ध कति कार्यकर्ताले ईयू सम्बद्ध अन्तर्राष्ट्रिय संस्थाहरूबाट सहयोग लिएर घरधन्दा चलाइरहेका छन् ?
ईयूको प्रतिवेदनको सरकार तथा सचेत राष्ट्रवादीहरूले आपत्ति जनाइरहेका बेला एकजना ‘क्रान्तिकारी’ देखिएका छन्–उपेन्द्र यादव । खस आर्यविरुद्ध ईयूको भनाइलाई साथ दिँदै उनले यहाँ जातीय असमजता रहेको भन्दैछन् । नकच्चराको औषधि हुँदैन भनेजस्तै सर्वाधिक समावेशी संविधानको प्रावधान हेक्का नराखी, जातीय आरक्षणका नाममा अवसरबाट वञ्चित पारिएका गरिब खस–आर्यकै विरुद्ध बोले उपेन्द्रले । विदेशी गुप्तचरसँग रातसाँझ बिताउने यस्तै घातीहरूको समर्थन पाएरै हो विदेशीहरूले कूटनीतिक मर्यादा र क्षेत्राधिकार विपरीत नेपालबारे आपत्तिजनक, हस्तक्षेपकारी अभिव्यक्ति दिन सकेको ! यस्तै अपराधीले नेपालको संविधानप्रति हस्तक्षेप गर्न चाहेको भारतको इशारामा नाकामा बसेर आन्दोलन गरेका अनि उनीहरूलाई देखाउँदै भारतले नाकाबन्दी गरेको बिर्सन सकिन्छ र ?
भारतीय नाकाबन्दीको डटेर सामना गरेका कारण केपी ओलीको पार्टीलाई चुनावमा जनताले बहुमत दिए । जनताको विश्वास प्राप्त गरेकै कारण ओली प्रधानमन्त्री हुनु भएको छ । उहाँ सम्भवतः आउँदो २३ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भारतको औपचारिक भ्रमणमा जाँदै हुनुहुन्छ । अपेक्षा छ–अघिल्लो कार्यकालमा ओलीले जुन राष्ट्रवादी छवी बनाउनु भयो, त्यसलाई झन् उज्यालो बनाउनु हुनेछ ।
नेपालीको चाहना र चासो नेपाल समृद्ध बनोस् । आफ्नो स्वाभिमान जोगाउँदै हाम्रो विकास गर्न सकौं । त्यसका लागि हामीले अरु मित्रराष्ट्रहरूलाई लडाएर झिल्ली झार्न सक्दैनौ । त्यस्तो प्रयास पनि निरर्थक हुनेछ । सबै मित्रराष्ट्र खासगरी यो मुलुक घेरेका दुई मित्रराष्ट्रसँग आफ्नो हितका कुरा स्पष्टसँग राख्न सक्नुपर्छ ।
यो स्तम्भकार २०२१ तिरको अखिल समर्थक थियो । त्यतिखेरको स्मरण हुन्छ–अखिल अथवा वामपन्थीले नवलपरासीको सुस्ता भारतीय पक्षबाट अतिक्रमण हुँदा गरेको विरोध आन्दोलन । ‘सुस्तौ राष्ट्रवादी चिन्तनको प्रतिक बनेको थियो र अहिले पनि सुस्ता दुखेकै छ । यतिखेर पनि खबर आएको छ–सुस्ता तल भारतले अन्तर्राष्ट्रिय मान्यता विपरीत बाँध बनाइरहेको छ । दक्षिणतर्फ धेरै सीमा मिचिएका, नेपालीमाथि आक्राण भइरहेका, योजनाहरू हात पारेर काम नगरिरहेको अवस्था छँदैछ । यतिसम्म कि पेट्रोलियम ढुवानीका लागि नेपालीले बनाउन लगाएका ट्याङ्कर चलाउन भारतले अनुमति दिएको छैन । मित्रताको राग गाउने तर यस्तो व्यवहार देखाउने भारतसँग अब प्रधानमन्त्री ओलीले ठाडो शीर बनाएर कुरा गर्नुपर्छ । धेरै छन् भारतीय पक्षबाट नेपाल हेपिनुपरेका विषयहरू । हामी ठूल्दाई वा भाइ होइन, समान अस्तित्व, हैसियतका मित्र हौं भन्ने विचार स्थापित गर्न सक्नुपर्छ ।
यतिखेर प्रधानमन्त्री ओलीको भ्रमण अगाडि नै नेकपा एमाले र माओवादी केन्द्रको एकीकरण सम्पन्न गर्ने भन्ने खबर सार्वजनिक भएको छ । चुनाव अगाडिदेखि नै शुरु गरिएको एकता प्रक्रिया नेकपाको स्थापना दिवस (अप्रिल २२) मा सम्पन्न गर्ने भनिएको थियो तर अहिले किन हतार गर्न खोजिएको छ यस्तो महत्वपूर्ण कार्यमा ? के जरुरी प¥यो प्रधानमन्त्रीको भारत भ्रमण अगाडि नै एकता घोषणा गर्न ? अप्रिल २२ ऐतिहासिक दिन हो । इतिहासको सम्मान गर्न सिक्नुपर्छ ।
अहिले परराष्ट्रमन्त्री परिपक्व, शालिन, व्यक्ति प्रदीप ज्ञवाली हुनुहुन्छ । अपेक्षा छ, चाहे प्रधानमन्त्रीको भ्रमण होस्, चाहे विदेशीहरूका प्रतिवेदन र भेटघाट सबै पक्षमा होसियारीपूर्वक कदम चाल्नु हुनेछ उहाँले । प्रधानमन्त्रीको भ्रमणको पूर्वघडीमा नेपाल–भारत मैत्री समाजका अध्यक्ष प्रेम लस्करीले भोलि बुधबार काठमाडौंमा प्रधानमन्त्रीको भ्रमण सन्दर्भमा कार्यक्रम आयोजना गर्नुभएको छ । त्यो कार्यक्रममा पनि दुई देशबीचको सम्बन्ध र समस्याबारे कुरा उठ्ने नै छन् । तिनलाई पनि हेक्का राख्दै परराष्ट्र मन्त्रालयले भ्रमणको तयारी गरोस् । भ्रमणमा मीठा कुरा गरेर मात्र हुँदैन, परिणाम देखिनुप¥यो ।
र, अन्त्यमा आज दुई व्यक्तित्व स्मरणमा आउनुभएको छ । एक, निर्मलकुमार रिमाल । उहाँ नविन कला मन्दिरका संस्थापक हुनुहुन्थ्यो । त्यो संस्थामा रहेर उहाँले कतिखेर रुस तथा भारतका राष्ट्रपति नेपाल आउँदा नाटक–नेपाली कलाको राजकीय प्रदर्शन गर्नुभएको थियो । उहाँले नेपाली संगीत, नाट्य क्षेत्रमा जति सक्नुभयो, त्यति योगदान पु¥याउनु भएको थियो । तर अब उहाँ हामीहरूबीच रहनुभएन । स्व. रिमालप्रति श्रद्धाञ्जलि ।
मरेपछि मात्र व्यक्तिको योगदान चर्चा गर्ने नेपाली चलन छ । तर यतिखेर कान्तिपुर एफएमले जीवित छँदै व्यक्तिको सम्मान कदर ग¥यो । नेपाली संगीत क्षेत्रमा राम्रो योगदान दिनुभएका रञ्जित गजमेयरलाई प्रत्यक्ष प्रशारण ग¥यो त्यो एफएमले । कार्यक्रम सुन्दा मन छोयो–कलाकार नीर शाहको भनाइले । शाहले वासुदेव सिनेमा बनाइरहेको बेला ‘कुन मन्दिरमा जान्छौ यात्री’ गीत रविन शर्माको स्वरमा रेकर्ड गर्दा सफलताको खुशीमा दंग परिरहँदा शाहले आफ्नो छोरा बितेको खबर सुन्नु परेछ ! एकातिर खुशी, सँगसँगै पुत्र वियोगको पीडा ! यस्तै हो जीवन !!

Comments