इन्डोनेसियाका विभिन्न चर्चमा आतंककारी हमला, नौ जनाको मृत्यु, अरु कैयौँ घाइते

सुराबिया, इन्डोनेसिया (रासस÷एएफपी)/ इन्डोनेसियाको दोस्रो ठूलो सहर सुराबियामा रहेका तीन वटा चर्चमा आतंककारी हमला भएको समाचार छ ।

ती छुट्टाछुट्टै हमलामा परी प्रार्थना गरिरहेका नौ जनाको ज्यान गएको प्रहरीले जनाएको छ । आतंककारीहरुले गरेको बम विस्फोटमा परी अरु दर्जनौँ व्यक्ति घाइते भएका छन् ।

आइतबारको प्रार्थनाका क्रममा ती व्यक्ति मारिएका हुन् । आइतबार बिहान ती तीनवटा चर्चमा छुट्टाछुट्टै हमला भएको थियो । हमलामा परी ४० जना घाइते भएका बताइएको छ ।

बम विस्फोट निकै शक्तिशाली रहेको प्रहरीले जनाएको छ । घाइतेहरुको अवस्था गम्भीर रहेको र मृत्यु हुनेको संख्या अरु बढ्न पनि सक्ने अनुमान गरिएको प्रहरीको भनाई छ ।

इन्डोनेसिया सबैभन्दा धेरै मुस्लिम जनसंख्या भएको देश हो । यहाँका मुस्लिमहरुले समय समयमा चर्चमा हमला गर्ने गरेका छन् ।

इन्डोनेसियाका मुस्लिमले यसै हप्ता रमादान वर्त बस्ने तयारी गरिरहेका छन् । त्यसको पूर्व सन्ध्यामा यसरी चर्चमा हमला भएको छ ।

रमादानको यस पूर्व सन्ध्यामा आतंककारी हमला हुनसक्ने अनुमानका साथ सरकारले उच्च सुरक्षा सतर्कता अपनाइएको बताएको थियो ।

आइतबार बिहान साढे सात बजेतिर एकै समयमा आतंककारीहरुले तीनवटा चर्चमा हमला गरेका थिए । सरकारले आइएसको सम्भावित हमलाको लागि सुरक्षा सतर्कता अपनाएको समयमा यसरी हमला गरेका हुन् ।

यस हमलाको जिम्मेवारी अहिलेसम्म पनि कसैले लिएको छैन । तर प्रहरीले यहाँका अतिवादी मुस्लिमबाटै यस्तो काम भएको हुनसक्ने अनुमान गरेको छ ।

तीनमध्ये एक चर्चमा आत्मघाती हमला भएको थियो । सो हमलामा परी एकै स्थानमा पाँच जनाको ज्यान गएको थियो ।

मुस्लिम अतिवादीहरुले आइतबारको प्रार्थनाको समयमा यस्तो आक्रमणको योजना बनाएको प्रहरीले जनाएको छ । चर्चहरुमा सुरक्षाको राम्रो प्रबन्ध भए पनि आत्मघातीले हमला गरेको बताइएको छ ।

Comments