प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण र नेपाल–चीन मित्रता

- देबेन्द्र गौतम

प्रधानमन्त्री केपी ओली आज छिमेकी चीनको औपचारिक भ्रमणमा जाँदै हुनुहुन्छ । यो भ्रमणका सन्दर्भमा अनेक कोणबाट टीकाटिप्पणी चलिरहेका छन् । कतिपय स्वनामधन्य लेखकहरूले झट्ट हेर्दा रसिलो तर गहिरिएर हेर्दा विषालु दृष्टिकोण पस्किरहेका छन् । यस्ता लेखाइहरू हेर्दा वि.सं. २०३० (सन् १९७३) को सन्दर्भ स्मरण भयो । त्यतिखेर पनि नेपाल–चीन सम्बन्धलाई लिएर कसैले उचाल्ने–पछार्ने, लडाएर खान खोज्ने चरित्र देखाएका थिए । १४ डिसेम्बर १९७३ को ‘नेपाल पोष्ट’ले सम्पादकीयमा लेखेको छ– श्री ५ वीरेन्द्रको भरखरैको एक साताव्यापी चीनको राजकीय भ्रमणबाट नेपालले घनिष्ट मित्रराष्ट्र चीनसँग गरेको अपेक्षा र विकासप्रति आफ्नो चिन्ता अभिव्यक्त भएको छ । …चिनियाँ प्रधानमन्त्री चाउ एनलाईले भन्नुभएझैं ‘स्थिति नबसेको आजको विश्वमा नेपाल र चीनको मित्रता र सहयोगको महत्व पहिलेभन्दा अझ बढी भएको छ ।’ यसबाट यो स्पष्ट हुन्छ, नेपाल–चीन सम्बन्ध एउटा यस्तो ‘बसेको स्थिति’ हो जसले वेस्थिति भएको अन्तर्राष्ट्रिय क्षेत्रमा शान्ति, सहअस्तित्व, पारस्परिक सद्भावना र सहकारिताको उदाहरण प्रस्तुत गर्छ ।
नेपाल पोष्ट वर्ष १ अंक १ पल्टाएर हेर्दा नेपाल–चीन सम्बन्धको सटिक विश्लेषण देखिन्छ । त्यतिखेरै राजा वीरेन्द्रले रात्रिभोजमा चिनियाँ प्रधानमन्त्री चाउ एनलाइलाई प्रत्युत्तर भाषण दिँदै भन्नुभएको थियो– ‘स्वस्थ र सन्तुलित आर्थिक विकासका लागि व्यापारजस्ता कुराहरूमा सहयोग हामी दुवैको लागि लाभदायक हुन सक्छ ।
उतिखेरै हामीले दुर्गम क्षेत्रहरूको विकास, उत्थान गर्ने हो भने प्रशासनमा सामञ्जस्यपूर्ण संस्थागत परिवर्तन गर्नुपर्ने लेखेका थियौं । जुन विषय अहिले प्रधानमन्त्री ओलीले मनन गर्नुभएको देखिँदैछ । उत्तरका सीमावर्ती दुर्गम क्षेत्रहरू सडक सञ्जालले जोड्नेदेखि योजनाहरूको समन्वय, अनुगमन संयन्त्र बनाउने पहल भएको छ ।
वास्तवमा नेपालले संयुक्त राष्ट्रसंघमा चीनको हक स्थापना गर्ने ऐतिहासिक सहयोग गरेको थियो । सन् १९५९ सेप्टेम्बर २१ मा नेपालका प्रतिनिधि ऋषिकेष शाहले संयुक्त राष्ट्र साधारणसभामा संयुक्त राष्ट्र संघमा चीनको जायज हक वहाल हुनुपर्छ भन्ने जिकिर गर्नुभएको थियो । ताइवानको स्वघोषित ‘गणतन्त्र चीनको सरकार’लाई वैधानिक भन्ने अमेरिकी सरकारको मुढे विचारलाई वस्तुवादी बनाउन नेपालले अन्तर्राष्ट्रिय मञ्चबाट तर्कपूर्ण जिकिर गरेको थियो ।
यस्तो ऐतिहासिक सहयोग–सम्बन्ध रहेको चीनसँग पछिल्लो अवधिमा दुई पक्षीय उच्चस्तरीय भ्रमणको आदान–प्रदान हुन सकेको छैन । ऊ बेला प्रधानमन्त्री चाउ एनलाइ दुईपटक नेपाल भ्रमणमा आउनुभएको थियो । पशुपतिनाथमा दुवैपटक भारु. ५००।– भेटी चढाउनु भएको थियो । सम्झना हुन्छ–राजा महेन्द्रले चिनियाँ कम्युनिष्ट पार्टीका अध्यक्ष माओत्से तुङलाई भेट्दा राष्ट्रिय पोशाक नलगाई सुट लगाएर माओलाई सजिलो बनाइदिनु भएको थियो । प्रधानमन्त्री बीपी कोइरालाले प्रधानमन्त्री चाउ एनलाइ भेट्दा भ्रमण दलका सदस्य गृहमन्त्री सूर्यप्रसाद उपाध्यायलाई अलग राखी एकल (गोप्य) कुराकानी गर्नुभएको थियो । कारण हो–सूर्यप्रसादलाई ‘अर्कै’ को भारी बोकेका भनी ठानिन्थ्यो ।
कूटनीतिमा पोशाकदेखि बोलीचाली, योजनाहरूको पनि विशेष अर्थ हुन्छ । यतिखेर प्रधानमन्त्री ओलीले पक्कै पनि विश्वशान्ति र सहविकासका लागि चिनियाँ पहलको समर्थनसहित सम्बन्ध अझ गहिरो बनाउने काम गर्नुहुने अपेक्षा गर्न सकिन्छ । नेपालले यस क्षेत्रको संवेदनशील अवस्था बुझेर चिनियाँ सहयोग आफ्नो हितमा कसरी बढी लिने भन्ने नै सोच्नुपर्छ । कसैलाई लडाउन खोज्ने होइन ।
चीनले पनि नेपालमा के सहयोग गर्न सक्छ, प्याकेजमा खुलस्त भन्नुपर्छ, लुकाउने होइन । यसो त कतिपयले भारततिरबाट रेल आयो, चीनतिरबाट आउन सक्दैन भन्ने हल्ला पनि गर्दैछन् । त्यस्तो प्रचार खण्डित हुनुपर्छ । निश्चय नै विगतमा नेपालको राजनीतिक अस्थिरताले हाम्रो विश्वसनीयतामा आँच पुग्यो । अब चीनले पनि अविश्वास तोड्नुपर्छ । दशकौंदेखि पञ्चशीलको सिद्धान्तमा अडिग चीनको परराष्ट्र नीतिमा स्थिरता छ । त्यो नीतिको प्रभावकारितामा प्रश्न छैन । अब नेपालको उत्तरी क्षेत्र र चीनको स्वशासित तिब्बत क्षेत्रबीच विकास निर्माणका योजना साथै जनस्तरको सम्बन्ध बढाइनुपर्छ ।
प्रधानमन्त्रीको चीन भ्रमण सफल होस् शुभकामना ।
यसैबीच हिजो राष्ट्रिय सभाका सदस्यहरूको पदावधि गोलाप्रथाबाट टुंगो लगाइयो । भाग्य भनेको भाग्य नै हो, पूर्णकार्यकाल पाएकाहरू फुलेल हुने र छोटो कार्यकाल पाएकाहरू निराश हुनुपर्दैन । राजनीति गर्नेहरू पदमा नभए नि जनताबीच पुग्ने हो भने अवसर, जनताको सम्मान पाउन सफल हुन्छन् ।
यतिखेर एउटा पक्ष चाहिँ लेख्नैपर्ने भएको छ– राजनीति गर्नेहरूले अझै पनि परिवर्तित राज्य संरचना बमोजिमको व्यवहार देखाउन सकेनन् । प्रदेशहरूले पनि केन्द्र सरकारकै सिको गर्दै अनेक नाराका पोकासहित बजेट बनाए । मन्त्रीहरूले आफ्नै जिल्लामा योजनाहरू केन्द्रित गरे । प्रदेश सांसद राजेन्द्र पाण्डेले त मुखै खोल्नुभयो–के बजेट मन्त्रीहरूको वपौती हो ?
प्रधानमन्त्री आदर्शवादी भाषण गर्दै हुनुहुन्छ तर उहाँकै गृहमन्त्री र यातायात मन्त्रीबीच विवादको नौटंकी छ । समन्वय सन्तुलन एउटै क्याविनेटका सदस्यहरूबीच छैन भने अन्त कसरी काम हुन्छ ? ठेकेदारहरू, कालाबजारीहरूलाई नियन्त्रण कसरी गर्न सकिन्छ ? एकातिर दूधमा पनि विष हालिन्छ अर्कातिर इमानदार किसानहरू सडकमा दूध पोख्न बाध्य छन् । यस्तो अवस्था कसरी अन्त्य गर्न सकिन्छ ?
मन्त्रीहरू, नीति निर्माताहरूले बरु सर्वसाधारण जनताबाट सिक्नुप¥यो । यो स्तम्भकार असनमा गएर जिम्बू किन्दा बाहिर लैजाने भनेपछि पसलेले छाप ठोकेर सिफारिस दिए । बाहिर भनेको विदेश होइन भनेपछि उनले भने–बाहिर जानेलाई प्रमाणपत्र दिएपछि झन्झट हुन्न भनेर यसरी छाप लगाइदिने गरेको हुँ ।
यो पद्धति बसाउने बानी सबै क्षेत्रमा हुनुप¥यो ।
यतिखेर विश्वकप फुटबल प्रतियोगिता चलिरहेको छ रुसमा शक्तिशाली ठानिएका टोली कमजोर र साना देशका कमजोर आँकिएका टोली बलिया देखिएका छन् । सानो देश भनेर हेप्न हुँदैन भन्ने पुष्टि भएको छ । यो खेलको उद्घाटनमा छोरा किरणले बोलाएर सँगै बसी खेल हेरियो । यो स्तम्भकार खेल हेर्दा कुनै टिमको समर्थन भएर भारी बोक्दैन । तटस्थता–खेलमा मात्र होइन, पत्रकारितामा पनि राख्छ । खेल हेर्दा आयरल्याण्डले अर्जेन्टिनाका नामी मेसीलाई हावा ख्वाइदियो । गजब लाग्यो ।
यसो त नेपाली नेताहरू पनि फुटबलका दर्शन प्रशंसक छन् । सम्झन्छु– ऊ जमानाका नेपाली खेलाडीहरू । मानिस ठूलो दिलले हुन्छ भनेझैं संकटा क्लबका आर्थिक सहयोगी मासु पसले थिए । उनी गोलकिपर पनि थिए । एनआरटीका बच्चु अहिलेका ‘मेसी’का बाउ’जस्ता थिए– गोल हान्नमा । महावीरका गोलकिपर अनुप राणा र फरवार्डर मोहन पाण्डे । केशर शम्शेरका छोरा केयूरले समेत ११ का खेलाडीलाई प्रायोजन गर्थे । विद्या व्यायमका रामकृष्ण वर्मा पनि नामुद खेलाडी ।
त्यस जमानाको नेपाली फुटबलको अवस्था खासै विकास हुन नसकेको ठान्छु । नेताहरू विदेशी खेलाडीको प्रशंसा गर्ने, नेपाली खेलको विकासमा खासै ध्यान नदिने भएकोमा दुःख लाग्छ ।
अन्त्यमा, यतिखेर भारततिरबाट आएको प्रदूषित वर्षाले आफ्नो घरको खुला एक्युरियम (पोखरी)मा पालेका माछा मरे । यो हिले वर्षाले कति क्षेत्रमा यस्तो असर पारे होला ?

Comments