सम्पादकको डायरी

- देवेन्द्र गौतम

यसपटक चीन भ्रमणमा गइयो । हुपेईको उहानमा प्रकाशनसम्बन्धी ‘चाइना पेरियोडिकल्स फेयर २०१८’ आयोजना भएको थियो । त्यसमा सहभागी हुन १२ सदस्यीय टोलीको नेतृत्व गर्दै ग्वान्जाउ हुँदै उहानमा पुगियो । टोलीमा साहित्यकार, सञ्चारकर्मी तथा सांगीतिक ब्याण्ड सुरसुधाका पाँच कलाकार थियौं ।

देवेन्द्र  गौतम

उहान विमानस्थल बाहिर हाम्रो स्वागतमा चाइना उहान पेरियोडिकल फेयरका प्रमुख मिस फाङ स्याउ हुए र छोरा किरण उपस्थित थिए । सरर लगे – मनोरम इष्टलेक (पूर्वी ताल) किनारमा अवस्थित होटल छुलिउमा । किरण एक महिना अगाडि नै चीनमा गएका थिए । उनले बेइजिङमा ‘बेल्ट एण्ड रोड एकेडेमिक पब्लिसिङ एलाइन्स’बाट हाम्रो संस्थालाई दिइएको ‘डिस्टिङ्ग्युस्ड प्रमोसन अवार्ड’ देखाए ।

आरामपछि वरिष्ठ चिनिया साहित्यकार चाउ पाईले हाम्रो टोलीलाई रात्रिभोज दिनुभयो । चाउ पाई सन् २०११ मा नेपाल भ्रमणमा आउनुभएको थियो । उहाँले त्यतिखेर मसँगै गोदावारीमा देङ स्याओ पिङले वृक्षारोपण गरेको नजिकै वृक्षारोपण गर्नुभएको थियो । भोज खाँदैगर्दा सोध्नुभयो – हामीले रोपेका विरुवा कति ठूला भए ? म एकपटक हेर्न आउने छु ।

भोलिपल्ट विहान पुग्यौं छाङचेङ बाल प्रकाशन गृहमा । त्यसको अवलोकनपछि आयोजित दुईपक्षीय बैठकमा हामी बाबु छोरालाई इन्टरन्याश्नल रिडिङ अवार्ड दिइयो ।

साँझ रात्रिभोजसहित उद्घाटन समारोह भयो हामी बसेकै होटलमा । पूर्व मन्त्री हाल चाइना पेरियोडिकल्स एशोसिएसनका अध्यक्ष हु साङच्, हुपेइ प्रान्तका गभर्नर, केन्द्रीय सूचना निर्देशक, हनान प्रोभिन्सका गभर्नर, बरिष्ठ लेखकहरु, मेलामा सहभागी प्रकाशन गृहहरुका अधिकारीहरु उपस्थित यो भब्य रात्रिभोज र उद्घाटनमा म र श्रीमती प्रदिपा गौतमलाई विशिष्ट ब्यक्तित्वहरुसँगै राखियो । त्यहाँ गराइएको परिचय सुनेपछि मैले जीवनभर पत्रकारिता गरेको महत्व थाहा पाएँ । आयोजकहरुप्रति कृतज्ञता ब्यक्त गरें ।

समारोहको शुरुमैं सुरसुधाले प्रस्तुती गर्ने अवसर पायो । नेपाली गीत रेशम फिरिरी र अर्को चमेलीसम्बन्धी प्रख्यात चिनिया गीत । यो विशिष्ट समारोहमा सुरसुधाले पाएको ताली आफैंमा अर्थपूर्ण थियो ।

भोलिपल्ट विहानै विशाल उहान अन्तर्राष्ट्रिय मेला केन्द्रमा पुगियो । हाम्रो करेन्ट प्रकाशन प्रा.लि.ले प्रकासन मेलामा दुईवटा स्टल रोखेको थियो । यहाँ पुगेर हेर्र्दा अर्को गौरवानुभूति भयो किनभने यसपटकको मेलामा विदेशका तर्फबाट प्रतिनिधि टोलीसहित आफ्ना प्रकासन र घरेलु साँस्कृतिक उत्पादनका नमूना प्रदर्शन गर्ने अवसर हामीले मात्र पाएका रहेछौं । मेलाको समुन्द्रपार, हंगकंग, ताइवान र मकाउका प्रकाशनहरुको बेल्ट एण्ड रोड प्रदर्शनी क्षेत्रमा अरुका स्टलहरु त थिए तर तिनका प्रतिनिधि खासै गतिविधि थिएनन् । हाम्रो स्टलसँगै भारतको एउटा स्टल थियो तर आयोजकका तर्फबाट खटिएका कर्मचारीमात्र स्टलमा देखिन्थे । हाम्रो स्टल चाहिं आकर्षणको केन्द्र नै बन्यो । आयोजकका पदाधिकारीहरु, विश्व प्रकाशन गृहको फेडरेसनका अध्यक्ष तथा सी. ओ. जेम्स हेउस, उहानका गर्भनरलगायतका विशिष्ट ब्यक्तित्वहरु हाम्रै स्टलमा आउनुभयो र चाखपूर्ण अवलोकन गर्नुभयो ।

यही दिन मेलामा हाम्रा दुई कार्यक्रम भए । एउटा, करेन्ट मिडिया रिसर्च सेन्टरकातर्फबाट छोरा किरणले हुपेइ साइन्स एण्ड टेक्नोलोजी प्रेससँग कमलको खाना तयार पार्न सिकाउने पुस्तक प्रकाशनको सम्झौता र हुपेई चोङतु कल्चर मिडिया कं.लि.सँग रणनीतिक साझेरदारीसम्बन्धी सम्झौतामा हस्ताक्षर गरे । अर्को, हामीले सहकार्यमा प्रकाशन गरेको ‘द वल्र्ड अफ चाइनिज साउथ एशिया’ म्यागजिन विमोचन तथा द बेल्ट एण्ड रोड नेपाल शो – सीपीफ २०१८ समारोह । यो समारोहमा मैले र द वल्र्ड अफ चाइनिज म्यागेजिनका संस्थापक चाउ होङपोले संयुक्त रुपमा यो म्यागेजिनको दक्षिण एशिया संस्करण अनावरण गर्यौं ।

यतिका वर्ष पत्रकारिता गरेर आज विदेशी भूमिमा विदेशी प्रकाशनसँगको सहकार्यमा आफ्नो संस्थाले प्रकाशन गरेको म्यागेजिनको अनावरण गर्न पाउँदा आफैंलाई गौरवानभूति नहुने कुरै भएन ।

यहाँ पनि सुरसुधाले सांगीतिक प्रस्तुती दियो । यो प्रस्तुतीले मेलाका धेरै दर्शकलाई आकर्षित गर्यो । आफूले लगेको नेपाली सांगीतिक टोलीले उहानमा नेपाली मौलिक संगीत प्रस्तुत गरी छिमेकी मित्रहरुलाई आफ्नो मुलुकको परिचय दिन सकियो ।

स्वभाविक रुपले मेलामा चीनको ठूलो हिस्सा सहभागी थियो । प्रकाशन क्षेत्रमा चिनिया लगानी हेर्दा लाग्यो – त्यहाँको विकास भाषण वा नाराले मात्र भएको होइन, साहित्य, शिक्षामा लगानी भए त्यसको प्रतिफल विकासमार्फत झल्किन्छ ।

हाम्रो होटल ताल किनारमा थियो । तालका वीचवीचमा आकर्षक पुल, कमलका फूल, हरियाली, तालवरपर आकर्षक बगैंचाहरुले यसै त सुन्दर यो क्षेत्र साँझ रंगिन बत्तिहरु ताल वरपरका रुखहरुवीच राखिएका छन् । मेलाबाट फर्केर साँझ खानापछि ताल किनारको अवलोकन गर्न निस्क्यौं । रंगिन वत्तिको प्रकाश, तालमा शितल हावाका झोंक्कासँगै तालको पानी छचल्किँदाको सांगीतिक वातावरणले हामीलाई उद्वेलित बनाइहाल्यो । गोरखापत्रका के.पी. गौतमबाट उक्साहट हुँदासाथ गजलकार ज्ञानुवाकर पौडेलले मुक्तक सुनाइहाल्नुभयो । उहाँले आफ्नै गजल राम्रो भन्ने सुनाउँदा हामीले ताली बजायौं । वरिष्ठ साहित्यकार रोचक घिमिरेले आफ्नो कविता ‘बुँलाकी माया’ सुनाउनुभयो । मुक्तक, कवितामा रुचि भए पनि आफूले नलेख्ने मैले पनि रत्न शमशेर थापाको सापटी लिएर एउटा मुक्तक सुनाइहालें ।
उहान तालैतालको क्षेत्र रहेछ । घना शहर, बस्तीका वीचमा रहेका तालको पानी सफा छ । काठमाडौंको त रानीपोखरी वा कमलपोखरीमा समेत ढल मिसाइएको देखिएकै छ ।

उहानको सुन्दरताबाट चिनिया नेता माओ त्से तुङ यति मोहित हुनुहुन्थ्यो कि उहाँ आफूलाई कुनै गम्भीर विषयमा सोचविचारसहित निर्णय वा आराम गर्नुपरे यहाँ आउनुहुन्थ्यो । याङत्चे नदी र तालमा पौडी खेल्नुहुन्थ्यो । उहाँ ४७ पटक उहानको यो ताल–होटल क्षेत्रमा आउनु भएको रहेछ । हामी बसेको होटलका भित्तामा उहाँ सहभागी भएका बैठक, छलफलका तस्वीरहरु सजाइएका छन् ।

भोलिपल्ट हामीलाई मिस उले आफ्नो हुताओक म्युजिक रेष्टुराँमा डिनर दिनुभयो । आधुनिक तर पुरानो सांस्कृतिक–वास्तुकला झल्किने गरी सजाइएको यो रेष्टुराँमा मिस उले नेपाली सांगीतिक टोलीको प्रस्तुती आयोजना गर्नुभएको थियो । सुरसुधाले करिब साढे एक घण्टा नेपाली तथा चिनिया गीत, संगीत प्रस्तुत गर्दा यो विशेष जमघटमा सहभागीमात्र होइन रेष्टुराँमा भरिभराउ ग्राहकहरु पनि सँगै नाचे, गाए । उनीहरुले नेपाल बुझ्ने अवसर पाए ।

यो भ्रमणमा सुरसुधाले चारवटा शो गर्यो । हाम्रो नाक फुल्यो – आफ्नो खर्चमा नेपाली सांगीतिक टोली उहानमा लगेर जनता–जनतावीच साँस्कृतिक आदान प्रदानमा एउटा इट्टा थप्न सफल भयौं ।

अर्को दिन विहानै हामी हुपेइ छङलिङ एग्रीकल्चर इकोलोजी कं.लि.को कृषि फार्म अवलोकन गर्न गयौं । पहिले प्रकाशन गृहमा काम गर्दा नेपालमा आउनुभएकी चिङ फङलाई सरकारले १७ हजार हेक्टर जमिन योजनावद्ध कृषिग्राम विकास गर्नका लागि सन् २०१० देखि लिजमा दिएको रहेछ । अर्गानिक (जैविक) खेती गरिएको यो फार्ममा अहिले माछापालन समेत छ । फङकी छोरीले दिएको विवरणअनुसार यहाँ साँस्कृतिक ग्राम निर्माणसहित कृषि पर्यटनको विकास गर्ने योजना रहेछ ।

यो कृषि फार्मको योजनामात्र होइन, समग्र उहानको विकास हेर्दा सरकारले कति योजनावद्ध काम गर्दो रहेछ भन्ने बुझियो । हामी नेताका भाषणमा त ठूला ठूला विकासका कुरा सुन्ने गरेका नेपालीले ‘हरेक दिन फरक उहान’ भन्ने नारासहित विकास निर्माण गरिएको उहानका सडक दिनको तीनपटक धोइएको देख्दा छक्क नपर्ने कुरै भएन । पुराना घरहरु विस्थापन गरी नयाँ आधुनिक गगनचुम्बी भवनहरु, आकासेमार्गहरु निर्माण भइरहेको ठाउँमा धुलो र सडकमा निर्माण सामग्री देखिँदैन । सडकवीचमा सुन्दर फूलहरु रोपिएको, फुलाइएको छ । सडकवीच र किनारमा ट्रकमा रुख ल्याएर रोपिएका दृष्य देखिन्छन् । तिनलाई जोगाउन चारतिरबाट टेको लगाएका छन् । हाम्रो नेपालमा विरुवा रोपिन्छ तर पानीसमेत हालिँदैन । जनताले केही दिनमैं निमोठिदिन्छन् ! गोदावारीमा कति विदेशी विशिष्ट ब्यक्तिहरुले वृक्षारोपण गरे तर तिनको समेत संरक्षण छैन ।

हाम्रा नेताहरु बिदेशका विकसित ठाउँमा घुमेका छन्, विकास देखेका छन् । सन्तानलाई ती विदेशमा पढ्न पठाएका छन् । तर यहाँ जिम्मेवार हैसियतमा रहँदा त्यो शिक्षा ब्यवहारमा उतार्दैैनन्, भाषणमात्र गर्छन् । केहीले नक्कल त गर्न खोज्छन्, तर ढंगै पुग्दैन ।
हामी फर्कने बेला ग्वान्जाउमा आएको आँधीले हवाई उडानको गडबढीका कारण उहानको प्रख्यात पर्यटकीय एलो क्रेन (पहेंलो सारस) टावर घुम्ने अवसर पनि जुर्यो । बसेको होटलबाट प्रकाशन मेलामा जाँदा वा यो टावरमा जाँदा नदी पार गर्नुपथ्यो । याङत्चे नदीका किनारमा अवस्थित मन्दिर शैलीको यो टावर अवलोकनका लागि टिकट काट्नुपर्ने रहेछ । यहाँ जाँदा आफ्नो उमेरको महत्व बुझें । म र रोचक घिमिरेलाई निःशुल्क प्रवेशमात्र गराइएन, बाहिरबाट हेर्दा छ तल्ला तर भित्र नौ तल्ला रहेको टावरमा चढ्दा हामीलाई लिफ्ट प्रयोग गराइयो । टावर परिसर प्रवेश गर्दा ज्ञानुवाकर पौडेल र प्रदिपा गौतमलाई अर्धशुल्क लिइयो ।

निःशुल्क टावर चडेर उहान शहर हेर्दा मैले जमानामा एक सिनेमाका हिरोले अर्धटिकट शुल्कमा विश्व घुमेको दृष्य सम्झें । काठमाडौंको स्वयम्भुजस्तै शहरको केही उच्च भागमा निर्मित यो टावरको इतिहास चीनका चार शासक बंश अगाडिको रहेछ तर हालको टावर तीस वर्ष अगाडिमात्र पुनर्निर्माण भएको रहेछ । हेर्दा काठको लाग्ने तर सबै कंक्रिटको यो टावर पुरानो लाग्छ । यसको निर्माण कला देख्दा लाग्यो – भूकम्पबाट क्षतिग्रस्त हाम्रा ऐतिहासिक, पुरातात्विक महत्वका सम्पदामात्र होइन, अन्य संरचनामा पनि अनावश्यक झण्झट, झमेला सिर्जना गरी वर्षौसम्म असरल्ल राखिएको छ । बढी खर्चिलो बनाइएको छ । सरसफाई र ब्यवस्थापन असरल्ल छ ।

टावर नजिक, याङत्चे किनार छेउबाट ग्वान्जाउ – बेइजिङको रेलमार्ग रहेछ । त्यो रेल, नदीका ढुंगा, पानीजहाज र गगनचुम्बी भवनहरुको दृष्य देखियो ।
उहानको यात्रामा शुरुदेखि अन्तिमसम्म मिस फाङ स्याउ हुएले हामीलाई गरेको माया र सहयोगप्रति हामी कृतज्ञ छौं ।
ग्वान्जाउमा आउँदा दुई दिन अगाडिको आँधीका कारण सयौ हवाई उडानमा गडबढी भएको अवस्थामा पनि मानौं केही पनि भएको छैन जस्तो सामान्य ढंगले विमानस्थल र उडानको ब्यवस्थापन चलिरहेको छ । त्यहीं थाहा पाइयो, काठमाडौंमा एउटा कम्युनिष्ट पार्टीले बन्दको आह्वान गरेको कुरा । आफ्ना छोरालाई कहिल्यै बन्द नहुने चीनमा पढाइरहेका अनि पटकपटक चीनमा गएर विकास देखेका नेता नेत्रविक्रम चन्दले ‘मुलुक र जनता’ का नाममा बन्द आयोजना गरेका रे !

Comments