काबुल आक्रमणमा १८ को मृत्यु

काबुल : अफगानिस्तानको राजधानी काबुलस्थित पाँचतारे होटलमा तालिबान लडाकुले आत्मघाती आक्रमण गर्दा १८ जनाको ज्यान गएको छ । अफगान गृह मन्त्रालयले दिएको जानकारीअनुसार शनिबार राति गरिएको आक्रमणमा कैयौं घाइते भएका छन् भने १५० भन्दा बढीलाई उद्धार गरिएको छ । अफगानिस्तानको राजधानी काबुलमा रहेको इन्टर कन्टिनेन्टल नामक पाँचतारे होटलमा विस्फोटक पदार्थ जडित ज्याकेट (आत्मघाती ज्याकेट) लगाएका र हातहतियार लिएका चारजना तालिबान लडाकुले आक्रमण गरेका थिए ।

उनीहरूले आक्रमण गर्दा होटलमा कैयौँ विदेशी पर्यटक पनि रहेका थिए । मारिनेमा १४ जना विदेशी पर्यटक छन् । आइतबार बिहानसम्म पनि छिटफुट रूपमा बन्दुक पड्काइएको आवाज सुनिएको थियो भने होटलको धुरीबाट धुवाँको मुस्लो समेत देखिएको थियो । तालिबान लडाकुले होटलमा आक्रमण शुरु गरेपछि उनीहरूलाई प्रहरीले घेरा हालेको थियो । प्रहरीको कारबाहीमा आक्रमणकारी नै मारिएका छन् । त्यस्तै मारिनेमा पाँचजना अफगान र एक विदेशी पर्यटक परेका छन् । मारिएकामा चार आत्मघाती आक्रमणकारी, एकजना अफगान नागरिक र अर्का एकजना विदेशी पर्यटक परेका यहाँका प्रहरी अधिकारीले पुष्टि गरेका छन् ।

‘आतंकवादीहरूले होटलमा आक्रमण गरेपछि सुरक्षाकर्मीहरूले जवाफी आक्रमण गरेका थिए’, गृह मन्त्रालयका प्रवक्ता नाजीब डानीशले भने । तालिबानको नियन्त्रणमा के कति मान्छे छन् वा छैनन् भन्ने बारेमा केही स्पष्ट हुन नसकेको अधिकारीहरूले बताएका छन् । घटनास्थलमा कुनै सञ्चारकर्मी तथा सर्वसाधारणलाई जान दिइएको छैन । एम्बुलेन्सहरूलाई पनि घटनास्थलमा जान नदिएर होटल नजिकै लाइनमा राखिएको छ । घटनाका कारण पश्चिमी छिमेकी शहरमा ट्राफिक जाम परेको छ । होटललाई प्रहरीले घेरा हालेको छ । लडाकुले होटलका पाहुनाहरूलाई नियन्त्रणमा लिएर बन्धक बनाएर राखेको हो कि भन्ने बारेमा पनि प्रहरीले अहिले नै केही भन्न सकिरहेको छैन । अहिले घटनास्थल पूर्णरूपमा प्रहरीले आफ्नो नियन्त्रणमा लिएको बताइएको छ । सन् २०११ मा पनि उक्त होटलमा तालिबान लडाकुले आक्रमण गर्दा २१ जना मारिएका थिए ।

Comments