दिल्ली विधान सभा: एकै पटक २० जना सांसदको पद गुम्यो

एजेन्सी ८ माघ । भारतको राजधानी दिल्लीस्थित आम आद्मी पार्टी सरकारलाई त्यहाँका राष्ट्रपतिले ठुलो झट्का दिएका छन् । चुनाव आयोगपछि राष्ट्रपतिले पनि आम आद्मी पार्टीका २० जना विधान सभाका सांसदलाई अयोग्य ठहर गरेका हुन् ।

चुनाव आयोगले लाभको पदको मामिलामा दिल्लीको सत्ताधारी आम आद्मी पार्टी (आप) का २० विधायकलाई अयोग्य ठहर गरेको थियो । त्यसपछि ’आप’ ले चुनाव आयोगको सिफारिसविरुद्ध दिल्ली उच्च अदालतमा गुहार मागेको थियो । जहाँ उच्च अदालतले आपका विधायकबारे निर्वाचन आयोगको सिफारिसविरुद्ध अन्तरिम आदेश दिन इन्कार गरेको थियो ।

दिल्लीको केजरीवाल सरकारले २०१५ मा ’आप’ पार्टीका २१ विधायकलाई संसदीय सचिव बनाएको थियो । त्यसपछि प्रशान्त पटेल नामका वकीलले लाभको पद लिएको बताउँदै राष्ट्रपतिसँग यी विधायककको सदस्यता समाप्त गर्न माग गरेका थिए । यसबीचमा विधायक जनरल सिंहले अघिल्लो वर्ष राजीनामा दिएपछि यस मामिलामा फसेका विधानसभाका सदस्यको संख्या २० मा झरेको थियो ।

आम आद्मी पार्टीले मुख्य चुनाव आयुक्त एके ज्योति आफ्नो अवकाश भन्दा पहिले सारा थन्किएका काम सक्न लागेको बताउँदै त्यहीकारण आयोग फटाफट पुराना मामिला मिलाउन लागेको आरोप लगाएको थियो । उनी यही २२ तारिखमा अवकाशमा जाँदैछन् । दिल्लीको सत्ताधारी पार्टीले यस्तो निर्णय गर्नै नसक्ने बताउँदै यसको टुंगो अदालतमा हुने बताउँदै आएको थियो । पार्टीले विधायकहरुको कुरा नै नसुनिएको गुनासो गरेको थियो ।

भारतीय संविधानको अनुच्‍छेद १०२(१)(ए) र १९१ (१)(ए) का अनुसार संसद या विधानसभाका कुनै पनि सदस्य यदि लाभको कुनै पनि पदमा बसेमा उसको सदस्यता खारेज गर्न सकिन्छ । यो लाभको पद केन्द्र र राज्य कुनै पनि सरकारमा जोडिन सक्छ ।

Comments