रंगमञ्चमा पहिलोपटक संस्कृत नाटक

काठमाडौँ, ९ माघ । सरस्वती पूजाको अवसर पारेर रंगमञ्चमा पहिलो पटक संस्कृत नाटक प्रदर्शन शुरु भएको छ ।

श्रीपञ्चमीका अवसरमा श्री कान्तिभैरव गुरुकुल, गोकर्णेश्वर नगरपालिका–४ का विद्यार्थीले ‘तमसो ज्योतिषि’ अर्थात् अन्धकारबाट उज्यालोतिर प्रस्थान नाटक आइतबार बेलुकीदेखि प्रदर्शन शुरु गरेका हुन् ।

गुरुकुलको सहयोगका लागि सामाजिक विषय वस्तुमा आधारित नाटक मञ्चन शुरु गरिएको हो । नाटकको शुरुवात गर्नुहुँदै भाषा आयोगका अध्यक्ष डा लवदेव अवस्थीले लोपोन्मुख भाषाको संरक्षणमा सबैको ध्यान जानुपर्नेमा जोड दिए। आयोगले भाषा सुधारका लागि काम गरिरहेको उनले जानकारी दिए।

जयतु संस्कृतम्का अध्यक्ष डा बद्री पोखरेलले कुनै पनि कृतिलाई पढ्नभन्दा अभिनयका माध्यमबाट रंगमञ्चमा हेर्दा त्यसको सन्देश बुझिने विचार राखे। गुरुकुल सञ्चालक समितिका अध्यक्ष प्रा डा ऋषिराम पोखरेलले संस्कृत भाषाका नाटक प्रदर्शनलाई निरन्तरता दिइने प्रतिबद्धता जनाए।

नाटक मंगलबारसम्म सर्वनाम थिएटर कालिकास्थानमा प्रदर्शन गरिने गुरुकुलका आचार्य सह प्रा डा श्रीराम अधिकारीले जानकारी दिए। गुरुकुलले यसअघि विसं २०७१ चैतमा वाल्मीकि विद्यापीठको चौरमा तयार पारिएको रंगमञ्चमा ‘स त्वम् अहम्’ अर्थात् ‘त्यो, तिमी र म’ शीर्षकको नाटक देखाएको थियो । नाटकमा दर्शकको सहभागिता बढेपछि यसपटक रंगमञ्चमै संस्कृत नाटक देखाइएको हो ।

नाटक त्रिभुवन विश्वविद्यालय संस्कृत अध्ययन संस्थानका पूर्व डीन स्व तोयनाथ पाण्डेयले लेखेका हुन्। नाटकको निर्देशन ‘गुरुदक्षिणा’ र ‘रागविरागम्’ जस्ता संस्कृत भाषाकै टेलिचलचित्रको निर्देशन गर्नुभएका डा घनश्याम खतिवडाले गरेका छन्।

आइतबार बेलुकी ४ बजेदेखि ६ बजेसम्म देखाइएको नाटक श्रीपञ्चमीका अवसरमा सोमबार विद्यार्थीका लागि अतिरिक्त प्रदर्शनस्वरुप दिउँसो १ बजेदेखि ३ बजेसम्म पनि देखाइनेछ । रु १०० देखि रु एक हजारसम्मको टिकट लिएका दर्शकको नाटक हेर्न भीड लाग्ने गरेको छ । रासस

Comments