सुष्मा स्वराजका गुप्त र अघोषित एजेण्डा

- राजकुमार रेग्मी

मुख्यमुख्य नेपाली राजनीतिक पात्रहरुको कानमा   साउती गर्दै भारतीय विदेश मन्त्री सुष्मा स्वराजको नेपाल भ्रमण सकियो । यो भ्रमण सफल  भयो ? उद्देश्य पूरा गरिन् ? भ्रमणले नेपाललाई लाभहानी के भयो ? अनि, यो भ्रमणले भविष्यमा नेपाललाई के असर गर्छ ? यसबारे विमर्श गर्नैपर्ने भएको छ ।

भ्रमणको उद्देश्य पहिचान नगरी उपलब्धी र असर पनि पहिल्याउन सकिन्न ।

यो भ्रमणको उद्देश्य गुप्त थियो । बिना कुनै एजेण्डाको भ्रमण थियो यो । सद्भावना र शुभकामना आदान प्रदानका लागि मात्र भ्रमण भनियो । भारत जस्तो शक्तिशाली देशकी विदेश मन्त्री नेपाल जस्तो रणनीतिक तथा सामरिक महत्वको छिमेकी देशमा सद्भावना र शुभकामना भन्न मात्र आएकी होइनन् । तसर्थ, भ्रमणका केही गुप्त र केही अघोषित एजेण्डा निश्चित रुपमा थिए ।

गुप्त र अघोषित एजेण्डा 

स्वराज भ्रमणका गुप्त एजेण्डा समयले पर्दा खोल्दै जाँदा देखिँदै जाला । अघोषित एजेण्डा चाहिँ लगभग पहिचान गर्न सकिन्छ । अघोषित एजेण्डा भनेको एमाले, केपी ओली र भावी सरकारसँग सम्बन्ध सुधार्नु नै हो । अघोषित एजेण्डा बोक्रा हो, गुदी अर्कै हुन्छ । कूटनीतिमा बोक्रा अनुसारको गुदि हुँदैन । देख्दा एक चिज हुन्छ, छाम्दा अर्काे हुन्छ अनि चाख्दा झन् अर्कै हुन्छ । कूटनीतिको विचित्र लीला यही हो ।

ओली नेतृत्वमा सरकार नबनोस् भन्ने भारतीय चाहना पूरा नहुने अवस्था छ । फलतः सम्बन्ध सुधार भारतको वाध्यता बन्यो । स्वराज आउनु अघि नै पर्दा पछाडि भारत र ओलीबीच अनेक मन्त्रणा पक्कै भएको छ । राजनीति–कूटनीतिमा पर्दा पछाडिको वार्ता सामान्य हो ।

सुष्माको गुप्त एजेण्डा नेपालमा चिनियाँ प्रभाव न्यूनीकरण गर्नु, नेपालमा चिनियाँ रेल र तेलको सम्भावना निस्तेज पार्नु, नेपाललाई आफ्नो प्रभाव र प्रभुत्वमा राख्नु नै हो । र, यसका लागि नेपालमा अस्थिर सरकार चाहिन्छ । यस्तो अस्थिर सरकार जसलाई भारतले अप्ठेरोमा पार्न सकोस्, पर्दा पछाडिबाट गिराउन सकोस् । जब आफूले भनेको बाटोमा नेपाल जाँदैन, त्यसबेला सरकार गिराइदिन सकियोस् । कमजोर सरकार भयो भने गिर्ने डरले पनि भारतीय चाहना भन्दा दायाँवायाँ गर्दैन भन्ने भारतीय फर्मूला हो । यिनै हुन् गुप्त एजेण्डा । यी एजेण्डाका अनेक हाँगाबिगा हुन सक्छन्, समयक्रममा खुल्दै जाला ।

प्रधानमन्त्री बन्नबाट रोक्न नसकिएका ओलीलाई फकाउनु र एमाले–माओवादी एकीकरण हुन नदिनु सुष्माको ठोस कार्यभार थियो । ओली सरकारमा कुनै एउटा मधेसवादी दललाई भित्र्याउनु अर्काे कार्यभार हो । ओली कति फकिए ? तल चर्चा गर्दै जाउँला । जहाँसम्म एकीकरणको कुरा छ, भारतले चाहेर या नचाहेर भन्दा पनि दुई पार्टीका मुख्यमुख्य नेताहरुको आन्तरिक स्वार्थले एकीकरण टर्दैछ ।

बलियो नेपाल, कमजोर भारत, झन् बलिया ओली

तीन वर्षमा सातपटक नेपाल आइन् सुष्मा । सधैं बलियो भएर आउँथिन्, हप्कीदप्की गर्दै आउँथिन् । यसपटक नम्र भएर आइन् । किनभने भारत अहिले चीनबाट आतंकित छ र नेपाल चीनसँग नजिक हुने खतरा उसले देखेको छ । चिनियाँ कित्तामा नेपाल जानु भनेको भारतका लागि सुनामी नै हो । सुष्माको भ्रमणको मूल जरा चीनसँग गाँसिएको छ । किनभने भारतको नेपाल नीति चीनलाई ध्यानमा राखेर लक्षित हुन थालिसकेको छ । नत्र थर्काउने भारत फकाउने भारतमा परिणत हुने थिएन ।

गत साताभरी भारतमा रायसिना गोष्ठी चर्चित रह्यो । मुख्यगरी भारत–अमेरिका मोर्चासँग निकट देशका प्रतिनिधिहरुको सो रणनीतिक गोष्ठी चीनको बढ्दो प्रभाव नियन्त्रण गर्नेमा लक्षित थियो । भारतीय विदेश सचिव एस. जयशंकरको कार्यकालको अन्तिम ठूलो काम थियो रायसिना गोष्ठी । गोष्ठीमा जयशंकरले चीनको बढ्दो प्रभाव भारत र विश्व व्यवस्थाका लागि खतरा भएको अभिव्यक्ति दिएका थिए ।

यी उनै जयशंकर हुन् जो संविधान जारी नगर्नु भन्दै धम्क्याउन विशेष दूतका रुपमा नेपाल आएका थिए । उनकै प्रशासनिक नेतृत्वमा नाकावन्दी भयो । जयशंकरकै पालामा नेपाल चीनसँग निकट हुन वाध्य भयो, पारवहन र वेल्ट एण्ड रोड परियोजना सम्झौता भयो । जयशंकरकै पालामा वाम गठवन्धन बन्न नदिने र बनेको गठवन्धनलाई चुनाव जित्न नदिने खेलो फड्को भयो । र, उनकै पालामा नेपाल फकाउने, ओली फकाउने रणनीति बन्यो । तर, सुष्माको साथमा जयशंकर आएनन्, अवकाश पाइसकेका थिए, विदेश सचिवका रुपमा विजय गोखले नेपाल आए ।

जुन तरिकाले भारतले नेपाल फकाउने प्रयाश गरिरहेको छ, त्यसलाई हेर्दा जयशंकर पदमै थिए भने पनि सुष्माको साथमा नआउन सक्थे । जयशंकरलाई उपस्थित गराउनु भनेको एक ढंगले नेपाललाई जिस्काउनु जस्तै हुने थियो ।

तथापि, पात्रहरुको परिवर्तनले भारतीय रणनीतिलाई धेरै फरक पर्दैन, पात्र परिवर्तनले विदेश मामिलामा ठाडै असर पर्ने नेपालमा हो । पात्र फेरिएर मात्र होइन, पात्रको नियत फेरिएर समेत नेपालको विदेश नीतिमा असर पर्ने गरेको छ । ओलीको अब नियत फेरिन्छ ? सुष्माको भ्रमणसँगै मुख्य रुपमा उठेको प्रश्न यही हो ।

सुष्मासँग ओली दह्रैसँग उभिए होलान् भनी आँकलन गर्न सकिने आधार अनेक छन् । किनभने ओलीले पनि पक्कै बुझेका छन्, भारत अहिले कमजोर अवस्थामा छ, भारतलाई नेपालको साथ चाहिएको छ । आफूलाई फकाउनै आएकी हुन् भन्ने ओलीले नबुझ्ने कुरै भएन ।

विगतमा कमजोर अवस्थामा हुँदा त ओलीले भारतसँग त्यसरी अडान लिएका थिए भने अहिले उनी बलियो अवस्थामा छन् । भारतले अनेक तगारो लगाउँदा पनि ओलीलाई रोक्न सकेन । ओलीको स्वभाव हेर्दा पनि उनी लक्पकाएनन् भनी लख काट्न सकिन्छ । र, सुष्माको तुफानी भ्रमणको क्रममा ओलीबाट यस्तो कुनै संकेत चुहिएको छैन जसबाट उनी लड्खडाए भन्न सकिन्छ ।

अर्थात्, ओली बलिया छन् । तर, भारत कमजोर छ । विगतभन्दा भारत कमजोर भएको होइन, चीनको शक्ति र सामथ्र्य बढेको हुनाले भारतको अवस्था कमजोर बन्न पुगेको हो । भारतलाई नेपालको साथको आवश्यकता छ । सुष्माको भ्रमणलाई यो सन्दर्भबाट बाहिर राखेर हेर्न सकिन्न ।

सुष्माको सन्देश र संकेत

नम्र भएर आए पनि सुष्माले खुलेआम केही सन्देश र संकेत दिएकी छिन् । उनको भ्रमण आफंैमा एउटा सन्देश हो । सद्भावना र शुभकामनाका नाममा नेपाल आउनु उपयुक्त मौसम थिएन, तर, भारतका लागि यो नै उपयुक्त मौसम थियो ।

संक्रमणकालीन अवस्था छ, सरकार काम चलाउ छ, नयाँ सरकार बनेको छैन, प्रधानमन्त्री पदको सपथ नलिएसम्म ओली नै प्रधानमन्त्री हुनेछन् भनेर ठोकुवा गर्न सकिने अवस्था छैन । तैपनि यो बेला आउनुको अर्थ नेपाली राजनीतिमा भारतीय हस्तक्षेप र हिस्सेदारी खुलेआम देखाइदिनु हो ।

नेपालमा आफूले चाहेपछि मात्र ओली प्रधानमन्त्री बन्न सके भनेर देखाउने प्रयाश पनि हो यो । दक्षिण एसियामा आफ्नो प्रभाव र प्रभुत्व यथावत छ भनेर पश्चिमाहरु तथा विश्वलाई देखाइरहनुपर्ने वाध्यता छ भारतलाई । यसका लागि पनि सुष्माले बेमौसमी भ्रमण गर्न परेको हो ।

भावी सरकारलाई यसरी हूल बाँधेर आएर बेमौसममा अग्रिम शुभकामना दिनुको अर्काे अर्थ चेतावनी पनि हो । नेपालको सरकारले के गर्छ भन्ने पूर्ण चासो र सरोकार राख्छौं, हाम्रो रुचीभन्दा बाहिर गयौ भने सहँदैनौं भन्ने सन्देश हो । ओलीसँग वन–टु–वन वार्तामा सुष्माले भारतीय रुची र सरोकारका विषय प्रष्टैसँग राखिन् भन्ने बुझ्न गाह्रो छैन । र, उनले आफ्ना रुची र सरोकार सम्बोधन गरे सहयोगको वचन पनि अवश्य दिइन् ।

सुष्माले ओलीलाई सहयोग गर्न थालिसकिन् । जस्तो कि संविधान संशोधनको लफडा चर्काइनन्, मधेसवादी दलहरुलाई देखिने गरी उकासिनन्, संविधानलाई आक्रमण गरिनन् । खुलेआम कुनै सर्त राखिनन् । भावी सरकारलाई सहयोग मुखले मात्र होइन व्यवहारबाटै हुन्छ भन्ने संकेत गरिन् ।

अब सुष्माले आफ्नो सहयोगको बदलामा ओलीबाट पनि सहयोग खोज्नेछिन् । समस्या यहिँनेर हो । सुष्माले जे भनिन्, ओलीले त्यो मान्ने कि नमान्ने ?

यो भ्रमण सफल कि असफल ? उपलब्धी भयो कि भएन ? यस्ता प्रश्नको जवाफ सुष्माले तत्काल पाउँदिनन् । किनभने सुष्माले जे प्रश्न छाडेर गएकी छिन्, त्यसको जवाफ आगामी दिनमा ओली तथा नेपाल सरकारको व्यवहारबाट पाउनेछिन् । त्यसबैला मात्र यो भ्रमणको औचित्य सुष्माले थाहा पाउनेछिन् ।

के गर्छन् ओली ?

ओलीले अब के गर्छन् ? सुष्मा आउनु अघि पनि उठेको प्रश्न हो र सुष्मा गएपछि पनि उठिरहने प्रश्न हो यो ।

सजिलो छैन ओलीलाई । ओली अर्थात् नेपाललाई । भारत अन्तर्राष्ट्रिय कूटनीतिक जटिलतामा फसेको छ, चीनको बढ्दो प्रभावले थिचिँदैछ, यो एउटा पक्ष हो । नेपाल पनि सजिलो अवस्थामा छैन । संघीयताको कठिन अभ्यास थाल्नु छ, दुई नम्बर प्रदेश र जातिवादलाई समाल्नु छ, भारत र पश्चिमाहरुले सेट गरेका कैयन एजेण्डाहरुले कुनै पनि बेला टाउको उठाउने खतरा छ । भारतको रुची सम्बोधन नगर्दा उसले अनेक कोणबाट दुःख दिने अवस्था छ ।

र, चिनियाँ तेल र रेलको नेपाली सपना साकार पनि पार्नु छ ।

प्रष्ट हो– भारतसँग सम्बन्ध बिगार्ने पक्षमा ओली उभिने छैनन् र उभिन हुँदैन पनि । भारतलाई पनि सन्तुष्ट पार्ने र चीनसँग पनि सम्बन्ध विस्तार गर्ने काम आँखा चिम्म नगरी हाच्छिउँ गर्नु जत्तिकै कठिन छ । नेपालले चिनियाँ तेल र रेल ल्याओस् अर्थात् चीनसँग सघन सम्बन्ध स्थापित गरेर भारत निर्भरता घटाओस् भन्ने पक्षमा भारत छँदैछैन । ओली तथा भावी सरकारले यही काम गर्नुछ ।

चीनसँग नेपालको सम्बन्ध विस्तार भारत विरुद्ध लक्षित होइन भन्ने ओलीले भारतलाई बुझाउन सक्नुपर्छ । चीन र भारत दुवैको अवाञ्छित ईच्छा पूरा गर्न सकिन्न भन्न सक्नुपर्छ । ओली प्रधानमन्त्री बन्दैछन् । उनले संयमित बन्नुपर्छ । प्रधानमन्त्रीले वैदेशिक सम्बन्धमा अनावश्यक रुपमा बोल्नु देशको स्वास्थ्यका लागि हानिकारक हुन्छ ।

सुष्माको भ्रमणको असर नेपाली राजनीतिमा आगामी दिनमा कसरी देखिएला ? उत्सुकताको मात्र नभएर चिन्ताको पनि विषय हो । यो चिन्ता हटाउने एकमात्र जिम्मेवारी ओलीको हो । समग्रमा भन्न पर्दा सुष्मा स्वराज परीक्षा दिएर गइन्, नतिजा आउन बाँकी छ । र, उनले ओलीलाई पनि परीक्षाको मैदानमा उतारिदिएकी छिन् ।

सरल पत्रिकाबाट

Comments