भ्यालेन्टाइन डेका लागि भारतीय गुलाब

काठमाडौं । यस वर्षको प्रणय दिवस (भ्यालेन्टाइन डे) का लागि भारतबाट करिब एक करोड मूल्य बराबरको गुलाबका फूल आयात भएको छ । आन्तरिक उत्पादनले मागको २० प्रतिशत मात्र धान्ने भएकाले ८० प्रतिशत भारतबाट आयात गरिएको हो ।
नेपाल फ्लोरिकल्चर एसोसियसनले जनाए अनुसार यसवर्ष २ लाख ३० हजार पिस गुलाबको माग छ जसमध्ये ५० हजार स्वदेशमै उत्पादन हुन्छ भने बांकी १ लाख ८० हजार भारतबाट आयात गरिन्छ । ‘हाम्रो उत्पादनले मागको २० प्रतिशतसम्म मात्र धान्ने अवस्था छ । त्यसैले भारतबाट एक लाख ८० हजार गुलाब आयात हुन्छ’, एसोसियसनका अध्यक्ष कुमार कसजु श्रेष्ठले भन्नुभयो ।
गत वर्षको तुलनामा यसवर्ष २० प्रतिशले माग बढेको छ । गत वर्ष करिब १ लाख ९० हजार गुलाब प्रणय दिवसका दिन खपत भएको थियो । श्रेष्ठका अनुसार ५ देखि ७ हजार पिस गुलाब दैनिक माग हुने गरेकोमा प्रणय दिवसको एक हप्ताभरि २ लाख पुग्छ । तर वार्षिकरूपमा माग बढ्दै गए पनि उत्पादन भने वृद्धि हुन सकेको छैन् । गत वर्ष करिब ५० हजार गुलाब उत्पादन भएको थियो ।
प्रेम दिवसमामा ८० प्रतिशत, दसैँतिहारमा २० प्रतिशत तथा ग्रीन प्लान्ट सिजनलका रूपमा भारतबाट आयात गर्नुपर्ने अवस्था रहेको श्रेष्ठको भनाइ छ । त्यस्तै अन्य फूल जस्तो वर्षभरी नै उच्च माग नहुने भएकाले पनि गुलाब खेतीमा पर्याप्त लगानी हुन नसकेको श्रेष्ठको ठहर छ । श्रेष्ठले दश वर्षअघिसम्म नेपालबाट बेलायत र जापानमा मात्रै वार्षिक ३ करोडको गुलाब निर्यात हुने गरेको भन्दै ‘सिजनल गुलाब’ मा ठूलो लगानी हुन नसकेको बताउनुभयो ।
उहाँले समग्र पुष्प व्यवसाय फस्टाउँदै गएको भन्दै केही वर्षमै आत्मनिर्भरको अवस्था आउने दाबी गर्नुहुन्छ । बजारमा गुलाबको मूल्यमा भने एकरूपता छैन । पसलपिच्छे फूलको मूल्य व्यवसायीले मनपरी रूपमा निर्धारण गर्ने गरेका छन् ।
स्थानीय स्तरमा भक्तपुर, काभ्रे, बनेपा लगायतका क्षेत्र तथा भारतको कलकत्ता, बैंगलोर, दिल्लीबाट गुलाब आयात हुने गरेको व्यवसायीहरू बताउँछन् । वि.सं. २०११ सालमा नेपाल प्राइभेट नर्सरी मार्फत सामान्य स्तरमा शुरू भएको पुष्प व्यवसाय हालसम्म ३९ जिल्लामा फैलिएको छ । यसमा लगभग ६ सय ७८ व्यवसायी छन् । गत आर्थिक वर्षमा १० करोड बराबरको पुष्प तथा पुष्पजन्य बस्तुको आयात तथा साढे ३ करोडको निर्यात भएको थियो । हाल देशको लगभग १ सय ४८ हेक्टर क्षेत्रफलमा पष्प व्यवसाय भइरहेकोमा यसमा ४१ हजार जना व्यक्ति प्रत्यक्ष तथा अप्रत्यक्षरूपमा आश्रित रहेका छन् ।

Comments