उत्तर कोरियामा कडा प्रतिबन्ध लगाउने अमेरिकाको घोषणा

२ फागुन, काठमाडौं । उत्तर कोरियाले आणविक कार्यक्रम नरोकेकाले अहिलेसम्मकै कडा नाकाबन्दी लगाउने अमेरिकाले चेतावनी दिएको छ । यी प्रतिवन्धलाई उत्तर कोरियाको परमाणु हतियार कार्यक्रमलाई रोक्ने अर्को एक प्रयासको रुपमा लिइएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसलाई उत्तर कोरियाविरुद्धको हालसम्मकै सबैभन्दा कडा प्रतिबन्ध भनेको बीबीसीले लेखेको छ ।

यसपटक ५० भन्दा बढी पानीजहाज कम्पनीलाई निशाना बनाइएको छ जसमा १६ कम्पनी उत्तर कोरियाका छन् । यसैगरी हङकङमा दर्ता भएका पाँच, चीन र ताइवानमा दर्ता भएका दुई-दुई तथा पनामा र सिंगापुरमा दर्ता भएका एक-एक कम्पनीविरुद्ध पनि नाकाबन्दी लक्षित हुनेछ ।

उत्तर कोरियाले परमाणु कार्यक्रम र मिसाइल परीक्षण गर्दै आएको कारण अमेरिकासहित कयौं अन्तर्राष्ट्रिय प्रतिवन्धहरु लागिसकेका छन् । तर त्यसलाई बेवास्ता गर्दै अमेरिकासम्म मार हान्न सक्ने शक्तिशाली व्यालेस्टिक मिसाइलको उत्तरकोरियाले परीक्षण जारी राखेको छ ।

Comments