चिकित्सा क्षेत्रमा सुधारको खाँचो

चिकित्सकहरूलाई कुटपिट गरिएको विरोधमा दुई सातादेखि डोटी जिल्ला अस्पतालमा स्वास्थ्य सेवा ठप्प पारिएको खबर दुर्भाग्यपूर्ण हो । सरकारी डाक्टरहरूले सरकारी चिकित्सक संघकै निर्देशनमा जिल्ला छोडेर काठमाडौं आएकाले यस्तो स्थिति उत्पन्न भएको हो । असुरक्षाका कारण जिल्ला छोड्नु परेको भनाइ डाक्टरहरूको छ । यसरी अस्पतालमा स्वास्थ्य सेवा सम्पूर्ण रूपमा लामो समयसम्म बन्द रहँदा उपचार नपाएर बिरामीहरू सकस र सास्ती बेहोर्न बाध्य भएको स्थिति छ । जिल्ला छाडेर केन्द्रमा गएका डाक्टरहरूलाई स्वास्थ्य मन्त्रालयले एक महिनाको काज दिएर मन्त्रालयमा नै हाजीर गराउनु झन् विडम्बनापूर्ण हो । डाक्टरहरूमाथि अवाञ्छित कार्यकलाप र हातपात गर्नेहरू माथि जिल्ला प्रशासनले कारबाही गर्दागर्दै स्वास्थ्योपचार जस्तो मानवीय कर्तव्य लत्याएर जिल्ला नै छोड्नु चिकित्सकहरूको अविवेकी र सम्वेदनहीन कार्य हो ।
केही चिकित्सकहरूका लापरबाही र अनाचारपूर्ण कामले गर्दा चिकित्सा क्षेत्र र चिकित्सकवर्गप्रति नै जनतामा नकारात्मक धारणा उत्पन्न हुन थालेको तथ्यतर्फ चिकित्सकसँग सम्बन्धित संस्थाहरूको ध्यान जानुपर्ने हो । आफ्ना समुदायको गलत कार्यकलाप ढाकछोप गर्न पछि नलागेर तिनलाई सचेत गराउँदै कर्तव्य पालनामा प्रतिबद्ध गराउने सक्रियता चिकित्सक संघ जस्ता संस्थाले देखाउनुपर्ने हो । यस्ता कुरामा चाहिँ संघको ध्यान पुगेको पाइँदैन ।
उपचार गराउन अस्पताल भर्ना भएकी महिलाको बायाँ घुँडाको शल्यक्रिया गर्नुपर्नेमा दायाँ घुँडाको अपरेशन गरेर डाक्टरले ठूलो अनर्थ गरिदिए । अर्को घटनामा पेट दुखेर जचाउन गएकी महिलाको पाठेघरकै अनावश्यक रूपमा अपरेशन गरिदिए भनिन्छ । बिरामीले पत्तै तपाई किड्नी निकालेर बेच्ने घटना पनि सुन्ने गरिएको हो । अस्पतालमा सुत्केरी हुन गएका महिलाका शिशु साटिएर तोडफोड हुने गरेका समाचार पनि बारम्बार सुन्ने गरिएका हुन् । जचाउन गएकी महिलामाथि यौन दुव्र्यवहार गर्ने चिकित्सकका कुकृत्य पनि बेलाबेला उद्घाटित हुने गरेका छन् । यस्ता अनर्थकारी उत्पात मच्याएर चिकित्सा क्षेत्रलाई नै बदनाम गराउनेहरू प्रति मेडिकल काउन्सिल र अन्य सम्बन्धित संस्थाहरूले दण्ड र नसीहतका प्रभावपूर्ण काम गर्नुपर्ने हो । तर त्यतातिर ध्यान गएको बिरलै देख्न पाइन्छ । यसो हुँदा चिकित्सक र चिकित्सा क्षेत्रप्रति नै जनविश्वास घट्नु स्वाभाविकै हो ।
सम्पन्न अथवा विपन्न जसले पनि स्वास्थ्य उपचारको सहजता अनुभव गर्न सक्नुपर्दछ । देशका सुगम दुर्गम सबै ठाउँका जनताले स्वास्थ्योपचारको सुविधा समानरूपले पाउनुपर्दछ । सुगम ठाउँका शहर बजारका टोलैपिच्छे अस्पताल र क्लिनिकहरू अत्यधिक मात्रामा हुनु तर सुदूर कुना कन्दराका दुर्गम जनता चाहिँ सामान्य औषधी र उपचार नै नपाई मर्नु सभ्य लोकतान्त्रिक राष्ट्र«को परिचायक होइन । यस्ता भेदभावयुक्त प्रचलनको अन्त्य गर्न सरकारले तत्काल पाइला चाल्नु पर्दछ । कसूर बिना नै चिकित्सकहरूमाथि दुव्र्यवहार गर्नेहरूलाई दण्डित गरेर अस्पताल र डाक्टरको सुरक्षामा सरकार अग्रसर हुनु पनि आवश्यक छ । अर्कोतिर आफ्नो पेशालाई नै दाग लगाएर बदनाम पार्न अघि सर्ने चिकित्सकहरूप्रति कठोरता अपनाउन सरकारले सक्रियता देखाउनै पर्दछ । यसो हुनसके मात्र चिकित्सा क्षेत्रमा सङ्लोपना र सहजताको स्थिति देखापर्न सक्तछ । सम्बन्धित क्षेत्रको ध्यान यतातिर जानु नितान्त आवश्यक छ ।

Comments