चीनसँग सम्बन्ध सुधारको भारतीय प्रयास, लामासहितको र्यालीमा प्रतिवन्ध

काठमाडौ, २५ फागुन।   दलाई लामाका कार्यक्रममा सहभागि नहुन मन्त्री र बरिष्ठ अधिकारीलाई सर्कुलर पठाएको दुई सातापछि भारतले लामासहित निर्वासित तिब्वती सरकारले बुधबार नयाँदिल्लीमा निकाल्ने तयारी गरेको र्याली रोकेको छ ।

चीन सरकारबिरुद्ध बिद्रोह गरी भारत निर्वासित भएको ६० बर्ष पुगेको अवसरमा निर्वासित सरकारले लामालाई अघि लगाएर दिल्लीमा र्याली र सभा गर्ने तयारी गरिरहँदा त्यसमा सरकारले रोक लगाएको हो । चीन र भुटानको सिमामा रहेको तर सामरिक महत्वको दोक्लाममा भएको दुई महिना लामो तनावपछि भारतले चीनसँग सम्बन्ध सुधारको प्रयास गरिरहेका बेला र्यालीमा प्रतिवन्ध लगाएको हो ।

यसअघि २२ फेब्रुअरीमा भारतीय विदेश सचिव बिजय गोखालेले क्याबिनेट सचिवमार्फत मन्त्री लगायतका भारतीय सरकारका उच्च अधिकारीलाई दलाई लामाका कार्यक्रममा सहभागि नहुन सर्कुलर पठाएका थिए । चीनसँग सम्बन्ध सुधारका लागि भारत सरकारले लिएका कदमको चीनले स्वागत गरेको छ । भारतले लिएको यो निर्णय र त्यसप्रति बेइजिङको सकारात्मक प्रतिक्रियालाई दुई छिमेकीबीच सम्बन्ध सुधार हुन थालेको रुपमा बुझिएको छ । चिनियाँ मुखपत्र ग्लोवल टाइम्सले एक आलेखमा दलाई लामालाई निषेध गर्ने भारतीय निर्णयले चीन–भारत सम्बन्धलाई सहयोग पुग्ने उल्लेख गरेको छ । चीनमा भारतीय राजदुतका रुपमा काम गरिसकेका विदेश सचिव गोखालेले आफ्नो चीन भ्रमणको ठिक अघि लामाका कार्यक्रममा सहभागि नहुन यस्तो निर्देशन जारी गराएका थिए ।

भारतीय विदेश मन्त्रालयले शुक्रबार एक बक्तब्यमार्फत दलाई लामाप्रतिको दृष्टिकोणमा कुनै परिवर्तन नआएको बताएपनि त्यसलाई ‘रणनीतिक’ मानिएको छ । ‘लामासहितको र्याली नै रोक्नुलाई भने बेइजिङसँगको सम्बन्ध सुधारको प्रयासका रुपमा बुझ्नुपर्छ’ चिनियाँ अखवारले भनेको छ ।

दोक्लम तनाव, अमेरिकाको एसिया पुर्नसन्तुलनको नीति,  चीनको बेल्ट एण्ड रोड ईनिसिएटिभ लगायतका कारण पछिल्लो समय भारत र चीनबीचको सम्बन्ध संवेदनशिल मोडमा पुगेको थियो । अमेरिका लगायतका पश्चिमा शक्तिले समेत अवको शताब्दी एसियाली शताब्दी भएको स्वीकार गरेको अवस्थामा चीनसँगको सहकार्य विना यो सम्भव देखिदैन ।

चीनको धारणा के देखिन्छ भने भारतले चीनबिरोधी कार्डका रुपमा जसरी लामालाई आजसम्म प्रयोग गर्यो, त्यसबाट अलग भएमा सम्बन्धमा सुधार आउन सक्छ । ‘भारतले चीनलाई उक्साउन यसअघि दलाई कार्ड प्रयोग गर्ने कोशिश गर्यो तर त्यसले काम गरेन । किनकी चीनले यसलाई अनुमति दिने छैन । यसले भारतलाई कुनै फाइदा गर्दैन । यसले दुबै पक्षको स्वार्थको अवमुल्यनमात्र गर्छ’ अखवारमा भनिएको छ ।

भारतले चीनको प्रभाव छिमेकमा बिस्तार भएकोलाई स्वीकार गर्नुको साटो चीनका बिरुद्ध अमेरिका र जापान जस्ता देशसँग गठबन्धनको कोशिश गरेर गल्ती गरेको अखवारको निश्कर्ष छ । बलियो चीनले भारतका लागि चुनौती मात्र नल्याएर अवसर पनि ल्याउँछ भन्ने नयाँदिल्लीले  महसुस गर्नु स्वागतयोग्य भएको बताएको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङको रोड एण्ड बेल्ट ईनिसिएटिभ भारतको बिकासका लागि महत्वपूर्ण मंच हुन सक्ने चिनियाँ धारणा छ ।

Comments