एकदिवसीय सिरिज खेल्न नेपाल यु–१९ टोलीलाई भारतले दियो आमन्त्रण

काठमाडौं,२२ साउन – भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले यू– १९ एकदिवसीय सिरिजका लागि नेपाली टिमलाई बोलाएको छ ।
सेप्टेम्बर ९ देखि २० सम्म कोलकातामा हुने भएको प्रतियोगितामा भारत र अफगानिस्तानको यू– १९ टोलीसँगै भारतकै नेशनल क्रिकेट एकेडेमी (एनसीए)को टोली पनि छ ।

सिरिज सेप्टेम्बर १२ मा सुरु भइ सेप्टेम्बर १८ मा सकिनेछ । सिरिजमा कूल ८ खेल हुनेछन् ।  यो सिरिजमा नेपालले संसारकै दोस्रो ठूलो स्टेडियम इडन गार्डेन्समा भारतविरुद्ध खेल्नेछ । इडेन संसारकै दोस्रो ठूलो र भारतको सबैभन्दा ठूलो स्टेडियम हो । यहाँ ६८ हजार दर्शक अटाउने क्षमता छ । संसारकै ठूलो क्रिकेट स्टेडियम भने अस्ट्रेलियाको मेलबर्न क्रिकेट ग्राउण्ड (एमसिजी) हो । यहाँ १ लाख दर्शक अटाउँछन् । इडेनमा नेपालले भारतविरुद्ध सेप्टेम्बर १४ मा खेल्नेछ ।

भारतीय क्रिकेट बोर्डले हरेक वर्ष युवा क्रिकेटरको क्षमता विकासका लागि यस्तो प्रतियोगिता आयोजना गर्ने गर्छ । यसपटकको सिरिजलाई यू–१९ एसिया कपको तयारीको रुपमा लिएको छ ।

आगामी अक्टोबरमा बंगलादेशमा हुने यू– १९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल, भारत, हङकङ, बंगलादेश, पाकिस्तान, श्रीलंका, युएई र अफगानिस्तान गरी ८ टोलीले खेल्दै छन् ।

नेपालले प्रतियोगितामा सहभागी हुनेबारे छलफल गरिरहेको भए पनि प्रतियोगिताको सबै तालिका तय भइसकेको छ । चार टोलीले एक अर्कासँग खेलेपछि शीर्ष स्थानमा रहने दुई टिमले फाइनल खेल्नेछन् । तेस्रो र चौथो स्थानमा रहने टिमले तेस्रो स्थानका लागि खेल्ने छन् ।

यस्तो छ तालिका

सेप्टेम्बर १२ – इडेन गार्डेन्समा भारतविरुद्ध अफगानिस्तान

सेप्टेम्बर १२ – जादभपुर युनिभर्सिटीमा एनसीएविरुद्ध नेपाल

सेप्टेम्बर १४ – इडेन गार्डेन्समा भारतविरुद्ध नेपाल

सेप्टेम्बर १४ – जादभपुर युनिभर्सिटीमा एनसीएविरुद्ध अफगानिस्तान

सेप्टेम्बर १६ – इडेन गार्डेन्समा भारतविरुद्ध एनसीए

सेप्टेम्बर १६ – जादभपुर युनिभर्सिटीमा अफगानिस्तानविरुद्ध नेपाल

सेप्टेम्बर १८ – इडेन गार्डेन्समा शीर्ष स्थानका दुई टिमबीच फाइनल

सेप्टेम्बर १८ – जादभपुर युनिभर्सिटीमा तेस्रो र चौथो टिमबीच प्ले अफ

Comments